समाज


वैवाहिक भिसामा बसेर 'विवाह व्यापार' गर्ने चिनियाँ पक्राउ

वैवाहिक भिसामा बसेर 'विवाह व्यापार' गर्ने चिनियाँ पक्राउ

नेपालखबर
पुस ११, २०८२ शुक्रबार २०:१९, काठमाडौँ

काठमाडौँका विभिन्न स्थानमा घर भाडामा लिएर गैरकानुनी रूपमा ‘म्यारिज ब्युरो’ सञ्चालन गर्ने एक चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। शुक्रबार महाराजगन्जस्थित एक घरबाट चिनियाँ नागरिक चिहाओ लिउलाई पक्राउ गरिएको विभागले जनाएको छ।

वैवाहिक भिसामा नेपाल बस्दै आएका लिउले नेपाली महिलालाई चिनियाँ नागरिकसँग विवाह गराइदिने बहानामा ठगी र तस्करीको जालो फैलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागका अनुसार उनले महाराजगन्ज लगायतका क्षेत्रमा कार्यालय नै खडा गरी नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर चीन पठाउने काम गरिरहेका थिए।

पक्राउ परेका लिउले नेपाली महिलाहरूबाट मोटो रकम असुल्ने र उनीहरूलाई चिनियाँ पुरुषसँग विवाह गराएर चीन पठाउने गरेको पाइएको छ। अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको गतिविधि शंकास्पद देखिएपछि लामो समयदेखि निगरानीमा राखिएको थियो।

'उनले काठमाडौँमा एउटा ठूलो सञ्जाल नै विस्तार गरिसकेको देखिन्छ', निर्देशक ढकालले नेपालखबरसँग भने, 'विवाहको बहानामा नेपाली युवतीहरूलाई चीन पुर्‍याउने र त्यहाँ पुगेपछि उनीहरूले पाउने दुःखका विषयमा पनि थप अनुसन्धान भइरहेको छ।'

पक्राउ परेका लिउले अपनाएको कार्यशैली यसअघि पक्राउ परेका अन्य चिनियाँ गिरोहसँग मिल्दोजुल्दो छ। गत कात्तिक २८ गते मात्रै अध्यागमन विभागले सोह्रखुट्टेको एक घरमा छापा मारेर चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा रुइजेङ अलान वाङ, लिउ युफान, रुई सियाओ र चाय यान बो थिए। उनीहरूले पनि काठमाडौँलाई आधार बनाएर अवैध म्यारिज ब्युरो चलाइरहेका थिए। विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराएर ३ वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad