ad ad

समाज


कोरोनाको डरले उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुंगे पुलमा ताला

कोरोनाको डरले उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुंगे पुलमा ताला

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ३:५७,

खोटाङबासीले छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न कम्पुघाटस्थित सुनकोशी नदी माथिको झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउन थालेका छन्।

उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो।

रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै कोरोना भाइरसको सङ्क्रमणसमेत भित्रिने खतरा बढेपछि हरेक राति झोलुङ्गे पुलमा फलामे तारजालीको छेकाबार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए।

‘दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पुघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ’, उनले भने, ‘दिउँसो आउँदा प्रहरीले रोक्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएका हौँ।’

फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको छ।

कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीय बासिन्दालाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ।

उदयपुरमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन्।

‘उदयपुरसँग हाम्रो गाउँपालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्धसमेत जोडिएको छ’, उनले भनिन् ‘विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने सङ्क्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ।’

खोटाङको दक्षिणी क्षेत्रका बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसायसमेत रहेको छ। उदयपुरमा अध्ययन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उदयपुरबाट जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन।

जिल्लामा अवश्यक अधिकांश दैनिक उपभोग्य वस्तु उदयपुरबाटै भित्रिने गरेकाले उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको भन्दै वैशाख ७ गते बसेको समितिको बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो।

दश स्थानीय तह रहेको खोटाङमा विदेशबाट घर फर्किएका ११५ स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा गत चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो।

जिल्लाका १० वटै स्थानीय तहमा गरी ३०४ शय्याको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ। सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको सङ्ख्या भने न्यून देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .