नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप दिन लागेको जोडी हात्तीले आज चितवन राष्ट्रिय निकुञ्ज छाड्दैछन्।
चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका जोडी हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप पठाउन लागेको हो। कतारको चिडियाखानाको लागि रुद्रकली र खगेन्द्रप्रसादले आज (सोमबार) चितवन राष्ट्रिय निकुञ्ज छोड्दैछन्।
दुवै उस्तै उमेर र उत्रै ज्यान भएका रुद्रकली र खगेन्द्रप्रसाद कतार सरकारलाई उपहार स्वरूप पठाउने निर्णय नेपाल सरकारले गरेको थियो।
२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले दुईवटा हात्ती उपहार स्वरुप दिने प्रतिबद्धता जनाएकी थिइन्। सोही प्रतिवद्धता अअनुसार यी दुई हात्ती उपहारमा दिन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।
कानुनी प्रक्रिया पूरा गर्दा हात्ती पठाउन ढिलो भएको उनको भनाई छ।
थापाका अनुसार यी हात्तीलाई आज चितवन निकुञ्जबाट ट्रकमा राखेर भैरहवा लगिन्छ। त्यहाँबाट कतार जाने कार्गो विमानमा जोडी हात्ती राखेर पठाउने प्रवन्ध मिलाइएको छ।
हात्ती राख्नका लागि काठको खोर तयार गरिएको सूचना अधिकारी थापा मगर बताउँछन्।
सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते (बुधबार) भैरहवा विमानस्थलबाट कतार उड्नेछन्। जसका लागि आज निकुञ्जबाट हात्तीलाई बिदाई कार्यक्रम आयोजना गरिएको छ।
२०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो खगेन्द्रप्रसाद। खगेन्द्रप्रसाद अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो। ६ वर्ष पुग्नै लागेको खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्।
कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको थियो। हात्ती प्रजनन् तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रमध्येको एक खगेन्द्रप्रसादले पर्यटकहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेको माहुतेहरूको भनाइ छ।
यता, हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो। पूजाकलीको मृत्युपछि उसलाई माउतेले रेखदेख गरेर हुर्काएका हुन्।
रुद्रकली पनि ६ वर्षकी भइ। रुद्रकली २०७५ असोजमा जन्मिएकी हो। यी दुवै हात्तीको बावु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ।
दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिएर हुर्काइएका हात्ती हुन्।
यी हात्ती कतार पठाउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको वातावरण अध्ययन गरेर फर्किएको छ।
अध्ययन टोलीले हात्ती राख्न बनाइएको ठाउँ उपयुक्त रहेको निचोड निकालेको थियो। हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट आएको प्राविधिक टोलीसमेत फर्किसकेको थियो। टोली दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्किएको छ।
नेपालमा निजी घरपालुवा हात्ती ७२ वटा छन्। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ५४ वटा हात्ती रहेका छन्। यहाँ जङ्गली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ।
हालसम्म नेपालले विभिन्न देशलाई ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ।
नेपालले पहिलोपटक सन् १९८५ मा विदेशी राष्ट्रलाई गैंडा उपहार दिएको थियो। सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगाय देशलाई २६ वटा गैंडा उपहार दिइसकेको छ।
Shares

प्रतिक्रिया