विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ गौरीगाउँस्थित सडकमा को.१ त ६४५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २६ वर्षीय अतित राईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी मोरङकै ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित सडकमा प्रदेश १-०२-०४५ प ३१४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय सुरेश कुमार सरदारको शनिबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी मोरङकै धनपालथान गाउँपालिका-४ नेपाल टेलिकमस्थित सडकमा को.२३ प ८४०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ सोराभाग बस्ने ५० वर्षीय शिवचरण माझीको मृत्यु भएको छ।
शनिबार बेलुका भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा प्र.२-०२-००४ प ९२१९ नम्बर मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषा मिथिला बिहारी नगरपालिका-३ बस्ने २४ वर्षीय राम केवल मण्डलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै चितवनको कालिका नगरपालिका-९ सेरवासस्थित सडकमा ना.३४ प ४६१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक इच्छाकामना गाउँपालिका-७ बस्ने २४ वर्षीय साजन चेपाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै तनहुँको ब्यास नगरपालिका-१२ कमलबारीस्थित ग.१७ प ९९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक भानु नगरपालिका-८ बस्ने २९ वर्षीय शंकर विकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय जिपी कोईराला श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जिएमसि अस्पताल पोखरामा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया