ad ad

समाज


उद्योगी घिमिरेद्वारा मिर्गौला पीडित पत्रकार पाल्पालीलाई राहत हस्तान्तरण

उद्योगी घिमिरेद्वारा मिर्गौला पीडित पत्रकार पाल्पालीलाई राहत हस्तान्तरण

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १३:२७,

उद्योगी शिवप्रसाद घिमिरेले मिर्गौला पीडित पत्रकार बिजयकुमार पोख्रेल (विके पाल्पाली) लाई खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन्।

लकडाउनका कारण पाल्पाली र उनको परिवार आर्थिक समस्यामा परेको बिषयमा समाचार सार्वजनिक भएपछि उद्योगी घिमिरेले नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको समन्वयमा करिब दुई महिनालाई पुग्ने खाद्यन्न (चामल, दाल, तेल, गेडागुडी, चिनी, चियापत्ती, विस्कुट, आँटालगायत) उपलब्ध गराएका छन्। त्यसैगरी औषधि उपचारमा सहयोग पुग्ने गरी नगद १५ हजार रुपैयाँ समेत हस्तान्तरण गरेको उनले जानकारी दिए।

‘पत्रकार पाल्पाली आर्थिक समस्या परेको सुनेपछि शुक्रबार दिउँसो पत्रकार महासंघ, काठमाडौं शाखामार्फत केही सहयोग गरेको हुँ’ घिमिरेले भने।

उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य हुन्। उनको पेट्रोलियम, ग्यास, सञ्चार, अक्सिजन प्लान्ट, जलविद्युतु, अटोमोबाइललगायत क्षेत्रमा लगानी छ।

महासंघका उपाध्यक्ष सुर्य सुवेदीले उद्योगी घिमिरेबाट प्राप्त खाद्यान्न र नगद शुक्रबार नै भक्तपुरको सिपाडोलस्थित पाल्पालीको निवासमा बुझाइसकेको जानकारी दिए। ‘नगदसहितको राहत सामग्री पाएर पाल्पालीको परिवारले अत्यन्तै खुसी व्यक्त गर्नुभयो’ सुवेदीले भने, ‘उहाँलाई अन्य व्यक्ति तथा संस्थाको पनि सहयोगको खाँचो छ। उद्योगी घिमिरेले सहयोग गरेर शुरु गर्नुभएको यो अभियानमा अरु मनकारी व्यक्तीले पनि सहयोग गर्नुहुने अपेक्षा राखेका छौं।’

पाल्पालीको जीवन संगिनी रेणुका भट्टराई पनि मधुमेह रोगले थलिएकी छिन्। परिवारको आम्दानीको स्रोत खुम्चँदै गएको बेला कोरोना रोग नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा खानका लागि नै समस्या भेग्नुपर्ने स्थितिमा उनको परिवार गुज्रिरहेको छ।

नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादक पाल्पालीको ०७० मा दुवै मिर्गौला फेल भएका थिए। भारत पुगेर उपचार गरेका उनको अहिले हप्तामा तीन दिन डायलिसस हुने गरेको छ। पछिल्लो समय घरमै डायलिसस गर्ने गरेपनि पैसा नभएर औषधि अभाव हुन थालेपनि उनी चिन्तित हुन थालेका छन्।

पत्रकार पाल्पाली महासंघको काठमाडौं शाखाको पूर्व कार्यसमिति सदस्य तथा हाल साधारण सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .