ad ad

राजनीति


सचिवालय बैठकअघि दौडधुपमा नेकपाका शीर्ष नेता

सचिवालय बैठकअघि दौडधुपमा नेकपाका शीर्ष नेता

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १३:२२,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकअगाडि आन्तरिक भेटवार्ता तीव्र पारेका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर भेट गरेका थिए। सचिवालय बैठकअघि दुई अध्यक्षले भेट गर्ने गरेका छन्। बुधबारकै बैठकले सचिवालय बैठक शनिबारका लागि तय भएपनि समय निर्धारण भएको छैन।

प्रधानमन्त्रीलाई भेटेलगत्तै प्रचण्ड बालुवाटारबाट सीधै वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका थिए।

दुई नेताबीच ४५ मिनेट छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिए।

‘सचिवालय बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न भेट भएको हो,’ नेपाल निकट स्रोतले नेपालखबरसँग भन्यो।

बुधबार साँझ बसेको सचिवालय बैठकमा सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन सुझाव दिएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि भैँसेपाटी गठबनन्धमा रहेका नेताहरुबीच आन्तरिक छलफल र भेटघाट तीव्र भइरहेको छ।

उता गठबन्धनका कारण अल्पमतमा परेका प्रधानमन्त्री ओलीले पनि गठबन्धनका नेताहरुसँग पालैपालो भेटवार्ता गरेका छन्।

बिहीबार प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

ओलीले तेस्रो अध्यक्ष बन्न गरेको प्रस्तावलाई नेता नेपालले अस्वीकार गरेका थिए।

उता प्रधानमन्त्रीले गौतमसँग पनि नियमित सम्पर्क गरेको गौतम निकट एक नेताले जानकारी दिए।

प्रचण्ड र वरिष्ठ नेता खनालबीच बिहीबार खुमलटारमा भेट भएको थियो।

नेकपाभित्र अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गठबन्धन बनाएका छन्।

सरकारले दुईवटा विवादास्पद अध्यादेश ल्याएपछि उपाध्यक्ष गौतम निवासमा वैशाख ९ गते शीर्ष ५ नेताले गठबन्धन बनाएका हुन्।

सोही गठबन्धनले दिएको दबाबकै कारण सरकारले वैशाख १२ गते दुवै अध्यादेश फिर्ता लिएको थियो।

अध्यादेश फिर्ता लिएपनि त्यसले पार्टीमा ठूलो असर पारेको भन्दै नेताहरुले स्थायी समिति बैठक बोलाउन लिखित माग गरेर हस्ताक्षर बुझाएका थिए।

त्यसपछि स्थायी समितिको बैठकको मिति तय गर्नको लागि बुधबार सचिवालय बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .