समाज


गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट

गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १२:५२, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ। महावरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, विपद् पीडित संरचनाको पुनर्स्थापना तथा व्यवस्थापनमा सहयोग जारी रहने कुरा पनि महावरले स्पष्ट पारे। भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा चलिरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न भारत सहयोग गर्ने उनले बताए। साथै, उनले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिए।

भेटमा गृहमन्त्री अर्यालले दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम तीव्र बनाउन भारतसँग अनुरोध गरे। उनले सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह, अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाममा दुवै देशका सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

साथै, उनले काभ्रेको पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको कार्य दुवै पक्षले छिटो अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad