छठ पूजा सेवा समितिले धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार कटान गाउँबाट ‘मुठ्ठीदान अभियान’ शुरुआत गरेको छ।
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि समस्यामा परेकालाई सहयोग गर्न ‘एक मुठ्ठी दान गरौँ भोकाको कल्याण गरौँ, आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ सो अभियानको थालिएको हो।
अतिविपन्न, गरिब तथा मजदुर वर्ग समस्यामा पर्न थालेपछि उनीहरुको उद्वार गर्न र कोरोना भाइरसबारे सन्देश दिनका निम्ति धनगढी उपमहानगरपालिकासँग समन्वय गरी वडा नं २ मा उक्त अभियान थालिएको सो समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए।
आपत् विपत् परेको बेलामा आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने सोचका साथ उक्त अभियानको थालनी गरेको उनले बताए।
उनले भने, ‘आपत् विपत् परेको बेलामा प्रत्येकको एक÷एक मुठ्ठी खाद्यान्नको सहयोगले पनि व्यक्ति तथा समाजलाई बचाउन सकिन्छ र उहाँहरुको चुल्होमा आगो बल्न मद्दत पुग्छ।’
वडा नं २ का हरेक घरबाट एकमुठ्ठी दान संकलन गरेर जम्मा भएको खाद्यान्न वडाको सम्बन्धित ठाउँबाट मजदुर, गरिब, डेरा लिई बसेका विद्यार्थीलगायतका वर्गलाई वितरण गरिने बताइएको छ।
मुठ्ठीदान अभियानसँगै वडाबाट राहत अभाव भएकाको तथ्यांक संकलन गरिने पनि काम भइरहेको समितिका सदस्य चन्दन जैसवालले बताए। उनले भने, ‘जसले गर्दा हामीलाई पीडित वर्गको कति र कहाँ छन् भन्नेबारे उहाँहरुको यथार्थ जानकारी प्राप्त हुन्छ र वितरण गर्नमा अझै सहज हुन्छ।’
वडा नं २ बाट शुरु गरिएको मुठ्ठीदान अभियान विस्तारै अन्य वडामा पनि शुरु गरिने समितिले जनाएको छ। उक्त अभियानबाट कोरोना भाइरसबारे सचेतनामूलक सूचना प्रवाह गरिने, सामाजिक सेवा तथा सद्भाव कायम गर्नमा सहयोग, आफ्नो टोल समाजबाट नै आफ्नो टोल समाजलाई सहयोग हुने र सहयोगको भावनाको विकास हुनेलगायतका सकारात्मक सन्देश दिनमा थप टेवा पुग्ने समितिले जनाएको छ। रासस

प्रतिक्रिया