अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि अनुसन्धान नै नगरी मुद्दा दायर गर्ने तयारी गरेको छ।
लेखक गृहमन्त्री हुँदा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरेका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। उनीसहित तत्कालीन गृहमन्त्री लेखकको सचिवालयका दुई जना कर्मचारी भिजिट भिसामा सेटिङ मिलाएर कमिसन बुझेर मानिस विदेश पठाएको मुद्दामा तानिँदा लेखकलाई भने अख्तियारले अनुसन्धानको दायरामै नल्याएको हो।
भिजिट भिसा प्रकरणमा लेखकको कनेक्सन नै नदेखिएको भनाइ अख्तियारको छ। लेखकको सचिवालयका बद्रीप्रसाद तिवारी र जनक भट्टलाई भने प्रतिवादी बनाउने तयारी अख्तियारले गरेको छ। उनीहरुसँग यसअघि नै बयान पनि लिइएको थियो। पक्राउ परेका भट्टराईको मोवाइल, कम्प्युटर लगायतको डिजिटल फरेन्सिक ल्यावको रिपोर्टबाट खुले अनुसार अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।
लेखकको सचिवालयका तिवारी र भट्ट पनि भिजिट भिसाको सेटिङमा संलग्न रहेको प्रमाण सहसचिव भट्टराईबाटै खुलेको थियो। उनीहरुले रकम लिने र मान्छे पठाउन अध्यागमनमा सेटिङ मिलाउनेसम्मको काम गरेको अख्तियारको भनाइ छ।
लेखकको कनेक्सन कतैबाट पनि फेला नपरेकाले उनीसँग बयान नलिएको र प्रतिवादी पनि नबनाउने अख्तियार स्रोतको भनाइ छ।
‘हामीले प्रतिवादी बनाउन चाहेर मात्रै भएन। कनेक्सन पनि देखिनु पर्यो। प्राविधिक उपकरण र अभिलेखहरुबाट उहाँको संलग्नता देखिएन। अनुसन्धानमा तानिएका अन्य प्रतिवादीले पनि उहाँलाई पोलेर बयान दिएनन्’, अख्तियार स्रोतले भन्यो, ‘कतैबाट पनि नजोडिएकाले उहाँसँग बयान लिएनौँ र प्रतिवादी पनि बनाउँदैनौँ।’
जेनजी आन्दोलनअघि लेखकलाई भिजिट भिसा प्रकरणको अनुसन्धान दायरामा ल्याउन माग गर्दै विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गर्दै आएका थिए। सरकारले असारमा नै पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। तर रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन र लेखकको राजीनामा माग गर्दै आएका थिए। उनीहरु यो मागबाट पछि नहटेकै अवस्थामा गृहमन्त्री लेखकले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै राजीनामा दिएका थिए।
उता अख्तियारले भने त्यसअघिबाट नै भट्टराईसहितका कर्मचारी, ट्राभल कम्पनीका सञ्चालक र बिचौलियामाथि अनुसन्धान गरिरहेको थियो। अख्तियारको अनुसन्धानमा मुख्य क्लु नै भट्टराईको डायरी बनेको छ। उनले आफ्नो डायरीमा को मान्छेमार्फत कति जनालाई भिजिट भिसामा सेटिङ मिलाएर पठाएको र कति रकम लिएको भन्ने उल्लेख गरेको फेला परेको अख्तियारको भनाइ छ।
अख्तियार स्रोतका अनुसार यो मुद्दामा १२ देखि १५ जनालाई प्रतिवादी बनाउने तयारी छ। भिजिट भिसामा सेटिङ मिलाएर पैसा बुझेर मानिस विदेश पठाउँदा दैनिक करोडसम्म असुलेको पाइएको भन्दै अख्तियारले सोही अनुसार बिगो कायम गरेर आरोप पत्र दायर गर्ने तयारी गरेको हो।
अख्तियारले सहसचिव भट्टराईलाई पक्राउ गर्ने तयारी गरेपछि गृह मन्त्रालयले हतारहतार विमानस्थलबाट उनलाई सरुवा गरेको थियो। लेखकको यो कदमले पनि उनीमाथि आशंका बढाएको थियो।
अख्तियारले भट्टराईलाई पक्राउ गरे लगतै विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर उपकरणहरु नियन्त्रणमा लिइएको थियो। ती सबै उपकरणहरुको डीएफएल रिपोर्ट र अन्य कागजात प्रमाणका आधारमा अख्तियारको अनुसन्धान निस्कर्षतर्फ पुगेको हो। सुरुमा पक्राउ परेका भट्टराईलाई अख्तियारले तारेखमा राखेर अनुसन्धान गरिरहेको छ। शंका गरिएका अन्य व्यक्तिहरुलाई पनि बयान लिँदै पठाउँदै गरेको छ।
‘अनुसन्धानको मोटामोटी काम टुंगिएको छ। यो साताभित्र विशेष अदालतमा मुद्दा दायर हुन्छ’, अख्तियार स्रोतले नेपालखबरसँग भन्यो।
भिजिट भिसामा अध्यागमनका कर्मचारीले विमानस्थलमा पैसा असुलेको भन्दै अख्तियारमा उजुरी परेको थियो। एउटै भिसामा एकै ठाउँ सँगै जानेहरुमध्येबाट पनि रकम तिर्ने उडेका र अन्यलाई फर्काइएको गुनासो उजुरीकर्ताको थियो।
त्यसपछि अनुसन्धान थालेको अख्तियारले झण्डै ८ महिना लगाएर अनुसन्धान टुंग्याउन लागेको हो। अध्यागमनमा यसरी सेटिङ गरेको गुनासोपछि विभागको टिम नै परिवर्तन गरियो। जसले गर्दा अहिले आवश्यक कागजात पूरा भएका नेपालीहरू सहजै विदेश जान पाउन थालेका छन्।
Shares

प्रतिक्रिया