समाज


कोरोना महामारी कहिले अन्त्य होला? यसो भन्छन् विज्ञ

कोरोना महामारी कहिले अन्त्य होला? यसो भन्छन् विज्ञ

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ३:३७,

कोरोना भाइरसको संक्रमण सुरु भएको चार महिना बितिसकेको छ। अहिले (शुक्रबार बिहान ८ः३० बजे) सम्म (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोनाका कारण २ लाख ३४ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ।

यस्तै यसबाट ३३ लाख ८ हजार २ सय २३ मानिस संक्रमित भएका छन्। तर तीमध्ये १० लाख ४२ हजार ८ सय १९ बिरामी उपचारपछि निको भइसकेका छन्।

नेपालमा पनि यसबाट ५८ जना संक्रमित भइसकेका छन्। तर तीमध्ये १६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। तर विश्वमा यसबाट संक्रमित हुने र मृत्यु हुने क्रम रोकिएको छैन। यसैकारण लकडाउनलगायत प्रतिबन्ध जारी नै छन्।

आखिर यो महामारी कहिले अन्त्य हुन्छ, वैज्ञानिकले कुनै अनुमान गरेका छन् कि? कुनै अनुसन्धानले केही निष्कर्ष निकालेका छन् कि?

शुक्रबार बिहान नेपालखबरले राखेको यो जिज्ञासामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोगमा पीएचडी गरेका डा. शेरबहादुर पुनको भनाइ यस्तो छः

यसको कुनै निश्चित हुँदैन। कुनै धेरै लामो समयसम्म पनि जान सक्छ भने कुनै मौसमी फ्लुजस्तो घरिघरि आउने पनि हुन्छ। जबसम्म डब्ल्यूएचओ (विश्व स्वास्थ्य संगठन) ले यो भाइरसको महामारी हट्यो है भन्दैन तबसम्म हामीले होसियारी अपनाइरहनुपर्छ।

यो नयाँ खालको भाइरस हो। यसको बानी बेहोरा बुझ्नै बाँकी छ। पहिला चीनमा फैलिएको यो भाइरस अहिले अमेरिकातिर महामारी बनिरहेको छ। यसले हप्तैपिच्छे आफ्नो रूप परिवर्तन गरिरहेको देखिन्छ। यस विषयमा विश्वका वैज्ञानिकबीच नै मतमतान्तर देखिएको छ। यो भाइरस संसारकै लागि नयाँ भएकाले यसबारे हामीले जति जानेका छौं, विश्वका वैज्ञानिकले पनि त्यति नै जानेका छन्।

सन् २००९ मा देखापरेको बोलीचालीमा स्वाइनफ्लु सिजनअनुसार घरिघरि देखिने गरेको पाइएको छ। यस्तै २००३ मा देखिएको सार्स तथा इन्फ्लुएन्जाजस्ता संक्रमणले आफ्नो रूप परिवर्तन गरिरहेको देखिन्छ। यी सबै कुरा विचार गरेर अनुसन्धान गर्नुपर्ने हुन्छ। फेरि अनुसन्धान चाँडै हुने कुरा होइन, त्यसका लागि लामो समय लाग्छ।

गर्मी वा जाडोले फरक पार्छ कि?
हुन त हावापानीले हामी मानवदेखि सृष्टिका सबै जीवमा प्रभाव पार्छ नै। यस हिसाबले यो कोरोना भाइरसको फैलावटलाई पनि मौसमले पक्कै केही प्रभाव पार्ने अनुमान गर्न सकिन्छ। अमेरिकाका एक वैज्ञानिकले घामको प्रकाशले यो भाइरस नष्ट गर्न मद्दत गर्छ भनेर पनि भनेका छन्।

तर त्यो तहमा हामीकहाँ अनुसन्धान हुन सकेको छैन। त्यही भएर अहिलेलाई के भन्न सकिन्छ भने जबसम्म यो भाइरसबाट हुने मृत्युदर शून्यमा झर्दैन तबसम्म हामीले अहिले जुन सावधानी अपनाइरहेका छौं, त्यसलाई जारी नै राख्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad