बाजुरा सदरमुकाम मार्तडीमा पसलमा आगलागी हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेज सहितको पसलमा मंगलबार दिउँसो आगलागी भएको हो। आगलागीमा दुई करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए।
आगलागीबाट पसल नजिकै रहेको किरण थापाको घरमा समेत क्षति पुगेको छ। आज दिउँसो सवा १२ विद्युतको तार सट हुँदा आगलागी भएको थियो।
सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। जिल्लाका सबै स्थानीय तहमा दमकल नहुँदा आगलागीका घटनामा समस्या हुँदै आएको छ।
गत जेठ २३ गते बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा पनि आगलागी हुँदा ४० पसल जलेर नष्ट भएका थिए। स्थानीय बासिन्दा, सुरक्षाकर्मी, व्यापारीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया