समाज


अमर गिरीका दुई कृति एकैसाथ

अमर गिरीका दुई कृति एकैसाथ

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार २१:१, काठमाडौँ

कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन्। 

गिरीको छैठौं कविता सञ्चयनका रुपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय, शब्द र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो।

कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन्। उनका यसअघि नै ‘घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौं, दुःसाध्य समय, शब्दहरुका बीचमा र समय संवाद जस्ता पाँच कविता कृति प्रकाशित छन्। गिरीका मौलिक र सम्पादित गरेर दर्जनौं समालोचना कृति पनि प्रकाशित छन्।

उनका प्रमुख समालोचना कृति हुन्– समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, साहित्य विमर्श, कवितामा वर्गद्वन्द्व। उनको सम्पादन र सहसम्पादनमा थुप्रै समालोचना सङ्गालो प्रकाशित छन्।

‘एकै भञ्ज्याङ् चढ्दैमा बिसाइ नफेर्ने काव्ययात्री हुन्– अमर गिरी। कविताको उकालोमा पाँच दशकभन्दा बढी समय अथक यात्री हुनु आफै‌मा असाधारण साक्ष्य हो’ प्रकाशक बेला पब्लिकेसन्सले भनेको छ, ‘कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील छन्। समाज, प्रकृति, जीवन, दर्शन, वर्गसङ्घर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका सुक्ष्मतम मनोद्वन्द्व, प्रेम, पीडा, आशा, निराशा, चिन्ताजस्ता भावनालाई पनि सहज शब्दबुनोट र सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले। आम मान्छेका सुखदुःखलाई वाणी दिने, जीवन महत्ताको गाथा गाउने, सङ्घर्षशीलहरुसँग ऐक्यबद्धता जनाउने, विकृत दुनियाँको विरूद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तिख्खर स्वरहरु हुन्।’

पाँच दशकदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन, साहित्य–फाँट र सङ्गठनका क्षेत्रमा पनि क्रियाशील गिरी प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष समेत हुन्। उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad