राष्ट्रिय मानव अधिकार आयोगले दयाराम परियार स्मृति सम्मान– २०८२ इलामका शंकर लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ।
मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि योगदान गर्ने अधिकारकर्मीलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ। आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रूपमा कार्यरत लिम्बूलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ।
आयोगका दिवङ्गत कर्मचारी दयाराम परियारको नाममा स्थापित यो पुरस्कार स्थापना गरिएको हो।
त्यस्तै, दुर्गममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरूका सवाललाई उठान गर्ने अछामकी पत्रकार मेनुका ढुङ्गानालाई यस वर्षको मानवअधिकार पुरस्कार–२०८२ प्रदान गरिने भएको छ।
आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिश समितिको सिफारिशमा आयोगको आज बसेको बैठकले निर्णय गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।
मानवअधिकार सम्मान र पुरस्कारको राशि ५० हजार रुपैयाँसहित सम्मानपत्र र प्रमाणपत्र रहेको छ। आयोगले मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) अवसरमा आयोजना गरिने कार्यक्रममा पुरस्कार र सम्मान प्रदान गर्ने जनाइएको छ।
Shares

प्रतिक्रिया