समाज


आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा

आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:१७, काठमाडौँ

नेपाल प्रहरीको तथ्यांकले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ। प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। 

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतीकरण दिए। उनले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेकामा जोड दिए।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा आज प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताए।

पहिले महिलाहरू हिंसा लुकाएर राख्ने गरेकामा विस्तारै खुल्दै गएकाले पनि हिंसाका उजुरी बढिरहेको उनले उल्लेख गरे। यो तथ्याङ्कले अझै पनि सामूहिक प्रयासमार्फत हिंसा न्यूनीकरणमा लाग्न हामी सबै एकजुट हुनुपर्छ भन्ने देखाएको उनको भनाइ छ ।

महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकामा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा जोड दिए। ‘पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसाका घटना भइरहेका छन्, त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्यसामग्री राख्न जरुरी देखिएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ’, उनले भने।

अहिले प्रहरीले देशभरका २६० युनिटबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी सेवा प्रदान गरिरहेको जानकारी दिइयो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको उल्लेख गरिन्। अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिला ‘हिंसा भयो’ भनेर मद्दत माग्न आउने गरेका जनाउँदै उनले बाँकी समाजमा लुकेर रहनु डरलाग्दो विषय भएको बताइन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराईले अभियानका रूपमा नभइ हिंसारहित समाज निर्माणका लागि आवश्यक सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिँदै न्यायको पहिलो ढोका प्रहरी भएकाले प्रहरीको भूमिका बढाउनुपर्ने उल्लेख गरिन्।

गृह मन्त्रालयकी उपसचिव मीना अर्यालले महिलामाथि हुने हिंसा बढिरहेका भन्दै समीक्षा गरी न्यूनीकरणमा लाग्न सबैमा आग्रह गरन्। प्रविधिले थप चुनौती थपिरहेको उल्लेख गर्दै उनले आवश्यक रणनीति बनाएर अघि बढ्न जरुरी रहेको बताइन्।

राष्ट्रिय महिला आयोगकी रोशनीदेवी कार्कीले ‘खबर गरौँ ११४५’ अभियान सञ्चालन गरिएको जानकारी दिँदै हिंसाका घटनामा ‘होस्टाइल’ हुने समस्या विकराल रहेको उल्लेख गरिन्। त्यसैले प्रभावितमैत्री सेवा दिन आवश्यक रहेको उनको भनाइ थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad