शनिबार साँझ नेपालयको आर शाला दर्शकहरूले भरिभराउ थियो। र, उनीहरू आफूलाई मन पर्ने गायकलाई सम्झिरहेका थिए। उनले छाडेका अमर गीतमार्फत। एकाएक हलमा सन्नाटा छायो, जब रूपक चौधरीको स्वरमा गुञ्जियो:
यस्तो पनि हुँदो रैछ
जिन्दगीमा कैले-कैले
एउटा भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ...
दिवंगत गायक फत्तेमान राजभण्डारीलाई सम्झेरै हुनुपर्छ, दर्शकहरूका आँखा रसाए। जसले गीतका प्रत्येक शब्दमा आफूलाई भेटिरहेका थिए। सुक्क सुक्क गर्दैं आँससँगै भावना पखालिरहेका थिए।
गएको नोभेम्बर २८ तारिखमा गायक फत्तेमानको ८९ औं जन्म जयन्ती थियो। सोही अवसरमा पलेँटीमा शुक्रबार र शनिबार फत्तेमानको सम्झनामा सांगीतिक कार्यक्रम राखिएको थियो। जहाँ फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका बारेमा गीति निबन्ध सुनाए। र, रूपकले उनका सदाबहार गीतहरू दुरुस्तै गाए।
आभासले फत्तेमानलाई रेडियोमा सुनेकोदेखि पहिलो भेटसम्मको प्रसंग सुनाए। आभास किशोर हुँदा दृश्यको होइन, श्रव्यको समय थियो। उनी रेडियो सुन्थे। अझ भनौँ, फत्तेमान राजभण्डारीका गीत सुन्थे। उनको संगीतप्रतिकै लगाव बढ्दै जान्छ। तर, परिवारले छोराको सपनामा साथ दिँदैनन्। संगीतभन्दा टाइपिङ सिक भन्छन्।
तिनै आभासको एकदिन गीतकार तथा संगीतकार अमर गुरुङसँग भेट हुन्छ। सम्बन्ध झाँगिँदै जान्छ। अमरमार्फत आभास फत्तेमानसँग ठोकिन्छन्। रेडियोमा सुनेका गायकलाई उनी प्रत्यक्ष भेट्न पाउँछन्।
घरपरिवारले संगीत नबुझ्दा आभास अलमलमा परेका थिए, त्यतिबेला अमरले सान्त्वना दिँदै भनेका रहेछन्, ‘जीवन हुरीको गीत हो, शान्त तलाउजस्तो होइन। यसलाई जुनसुकै अवस्थामा चलायमान बनाउनुपर्छ। खुसी मिलेन भने हामी दु:खी दु:खीनै मिल्नुपर्छ। तिमी र म दुवै दु:खी, आऊ अँगालो हालौँ।’

त्यसबेला आभासलाई असामान्य लागेको त्यो अंगालो। अहिले सम्झिँदा अद्धभूत लाग्छ। जसले बेग्लै उर्जा दिन्छ। अमर गुरुङको गीतको भाव, फत्तेमानको कण्ठमा रेकर्ड भएर आउँछ। अनि प्रेरणात्मक भएर गुञ्जिन्छ:
जीवन हुरीको गीत हो भने
जसरी पनि गाउनै पर्छ
सुखी मिलेन भने
हामी दु:खी दु:खी नै मिल्नु पर्छ
पछिल्लो समय धेरै व्यक्तिहरू मानसिक समस्याबाट गुज्रिरहेका छन्। यो व्यस्त दुनियाँमा तिनलाई सुनिदिने र बुझिदिने कोही छैन। त्यस्तोमा दु:खी दु:खी मिलेर एकअर्कालाई सुन्दा मात्रै कति आनन्द प्राप्त हुँदो हो!
रूपकले वनै खायो डढेलोले, मर्न बरू गाह्रो हुन्न, सान्नानीको गालैमा, कति खोला लगायतका दर्जन गीतहरू गाए।
सुनेर संगीतकार आभासले रूपकतिर हेर्दै भने, ‘रूपकको स्वर सुनेर फत्तेमान दाइको झल्को आयो। उहाँले नै गाएजस्तो लाग्यो। रूपकलाई रूपकमान भन्न मन लाग्यो।’
पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो। सन् २००२ को अगस्ट १० तारिख नेपालयले ‘गायक फत्तेमान साँझ’ को आयोजना गरेको थियो।
हालको संसद् भवनमा सम्पन्न भएको कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो। संगीतकार आभासले नै त्यो कार्यक्रमको संगीत संयोजन गरेका थिए। फत्तेमानसँगको पहिलो भेटघाटदेखि एकल साँझसम्मको कुराहरू आभासले सेयर गरे। जुन सुनेर दर्शकहरूले अझै फत्तेमानबारे बुझ्ने मौका पाए। वाचनकै क्रममा चर्चित गायिका अञ्जु पन्तको फत्तेमानसँगको सन्दर्भ जोडियो। उनको संगीतप्रतिको समर्पण र संघर्षको कथा सुनियो।
फत्तेमानको अन्तिम गीत ‘मर्छु र म डुङ्गा बन्छु’ सँगै कार्यक्रम सकियो। पछिल्लो पटक आभास यी शब्दहरूमा धुन भरिरहेका थिए। ती धुन फत्तेमानलाई सिकाउँदै थिए। यो गीतमा धुन सिर्जना गर्दा उनले मृत्युभन्दा बढी सम्झनाको बारेमा सोचेका थिए।
आभासले फत्तेमानलाई गीतको रचनागर्भ सुनाए। फत्तेमानले सोधेछन्, ‘कसले लेखेको शब्द हुन् यी? बुढो अब मर्ने बेला भयो। मेरै निम्ति लेखेको शब्द जस्तो छन् त।’
आभासले युवा छँदाका कवि मञ्जुलको शब्द रहेको सुनाए। जुन गीत मञ्जुलको युवा अवस्थामा प्रकाशित गीति सँगालो ‘साइँली मोरीलाई’ मा समावेश छ। त्यही गीत फत्तेमानको स्वरमा यसरी गुञ्जियो:
मर्छु र म डुङ्गा बन्छु
आउँदा नदी तार्न सकूँ
मर्छु र म सम्झना हुन्छु
आउँदा आँसु झार्न सकूँ
फत्तेमानले भनेझैँ भयो। त्यो नै उनको अन्तिम गीत बन्न पुग्यो। एकदिन गायक फत्तेमान राजभण्डारी भौतिक रूपमा रहेनन् भन्ने खबर सुनियो। गीतका शब्दले भनेझैँ उनी डुंङ्गा बने वा बनेनन्, अरूलाई नदी तारे वा तारेनन् तर दर्शकको सम्झनामा उनी सदा बाँचिरहेका छन्। त्यसैले गीत सुन्दै दर्शकहरू आँसु झारिरहेका छन्।
Shares

प्रतिक्रिया