समाज


साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु

साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २१:४०, काठमाडौँ

नुवाकोटको ऐतिहासिक तलेजु भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण बुधबारदेखि सुरु भएको छ। 

तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माणको सुरु गरिएको हो। २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुर्‍याएको तलेजु मन्दिरको संरचना पूर्ण रूपमा हटाई जग निर्माण थालिएको छ भने दरबारको सात तलामध्ये पाचौँ तलासम्म हटाइएको छ।

प्राविधिक अध्ययनअनुसार थप संरचना हटाउँदै लगिने पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिइन्। उनको अनुसार, पुरातत्व विभागसँग भएको सम्झौताअनुसार निर्माणको जिम्मेवारी लिएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले पहिलो चरणमा दुई संरचनाको निर्माणका लागि जगसतहको निर्माण थालिएको हो। 

दश वर्षअघि गएको भूकम्पले क्षति पुर्‍याएको साततले दरबारसहितको संरचना निर्माणको कार्य ढिलो भएसँगै अन्योल रहेको पुनःनिर्माणले अब गत लिने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए। दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिकको मागअनुसार विदुर नगरपालिकाले पानी, विद्युत् आपूर्ति, भण्डारणस्थल, पहुँचमार्गको निर्माणमा सहयोग गरेको छ। 

भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत चीन सरकारसँग २०७६ जेठमा भएको सहमतिअनुसार यहाँका आठ वटा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका संरचना चीन सरकारले निर्माण गर्ने उल्लेख छ। त्यसका लागि चिनियाँ कम्पनीले ४५ महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, काम सुरु नहुँदै निर्धारित समय सकिएकाले नयाँ सम्झौतामा सोही अवधि नै निर्धारण गरिएको छ। 

पहिलो चरणमा एक वर्षभित्र तलेजु मन्दिर र साततले दरबारको निर्माण सम्पन्न गर्ने र बाँकी संरचनाको पुनःनिर्माण दोस्रो चरणमा गर्ने समझदारी भएको छ। सोहीअनुसार दरबार परिसरमा रहेका गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरका लामपाटी र शीतलपाटीलाई दोस्रो चरणमा निर्माण गर्ने उल्लेख छ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि १८०१ सालमा विजय गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ। काठमाडौँ उपत्यकामाथि विजयी हुनुअघिसम्म सोही दरबारबाट प्रशासनिक कामकाज सञ्चालन गरेका थिए। उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो।

पृथ्वीनारायण शाहले तत्कालीन समयमा प्रयोग गरेको लत्ताकपडा, पलङ, ओछ्यान, युद्धकौशलका सामग्री, पृथ्वीनारायण शाहसहित दुई रानीका प्रतिमालगायतका पुरातात्विक सामग्रीसहितको साततले दरबारलाई विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको छ। (रासस) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad