समाज


पदबहाली गर्दै मुख्यसचिव अर्यालले भने- निजामती सेवाको साख अझ उँचो बनाउनेछु

पदबहाली गर्दै मुख्यसचिव अर्यालले भने- निजामती सेवाको साख अझ उँचो बनाउनेछु

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १६:५८, काठमाडौँ

नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवालाई सुशासन, दक्ष प्रशासन र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। 

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै अर्यालले निजामती सेवाको साख बढाउँदै जनसन्तुष्टि अभिवृद्धि आफ्नो कार्यकालको शीर्ष प्राथमिकता हुने स्पष्ट गरे।

मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई निःस्वार्थ भावना र पूर्ण जिम्मेवारीबोधका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘मेरो शक्ति, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक-मैत्री बनाउँदै मुलुकको समग्र रूपान्तरणमा केन्द्रित हुनेछ।’

जेनजी आन्दोलनप्रति श्रद्धाञ्जलि
पदबहालीका क्रममा उनले सुशासन र न्यायका मागसहित भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवापुस्ताप्रति श्रद्धाञ्जलि व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनले उजागर गरेका सुशासन, पारदर्शिता र उत्तरदायित्वका मापदण्डहरू कार्यान्वयनमा विशेष जोड दिने संकेत दिए।

निजामती सेवाभित्रका कमजोरी सुधार्ने घोषणा
अर्यालले पछिल्ला वर्षमा निजामती सेवाबारे जनमानसमा बनेको नकारात्मक छवि-ढिलासुस्ती, गुटगत विभाजन, राजनीतिक प्रभाव, स्वार्थीपन र कमजोर कार्यशैली-उन्मूलन गर्न नेतृत्व तहले आचरण र कार्यशैलीमै आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
“मुलुकको मेरुदण्ड मानिने निजामती सेवा जनताको नजरमा कमजोर बन्दै गएको छ, अब सुधार अपरिहार्य छ,’ उनले भने।

चुनाव र सुशासन पहिलो प्राथमिकता
वर्तमान सरकारका दुई प्रमुख दायित्व-आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र भ्रष्टाचारमुक्त सुशासनमा निजामती सेवाले पूर्ण सहयोग गर्ने उनले बताए।

सचिवहरूलाई २९ निर्देशना

मुख्यसचिव अर्यालले सबै सचिवहरूलाई लक्षित गर्दै २९ बुँदे निर्देशन पनि जारी गरे। प्रमुख निर्देशनहरू यसप्रकार छन्:

निर्वाचन सफल बनाउने, सुरक्षा समन्वय सुदृढ गर्न सहयोग गर्ने।

ढिलासुस्ती अन्त्य, समयमै निर्णय, कार्यालयमा टोकन प्रणाली र रिपोर्ट कार्ड लागू गर्ने।

अनलाइन सेवा विस्तार, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सबै मन्त्रालयमा लागू गर्ने।

गुनासो समाधानमा सक्रियता, ‘हेलो सरकार’ प्रभावकारी बनाउने।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने।

विकास निर्माणमा गुणस्तर सुनिश्चित गर्दै अवरोध हटाउने।

जेनजी आन्दोलनले उठाएका सुधारका एजेन्डा उच्च प्राथमिकतामा राख्ने।

प्रशासनिक खर्चमा मितव्ययिता, अनावश्यक संरचना नबनाउने।

संविधानअनुसार सक्षम प्रशासन निर्माणमा जोड

अर्यालले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी र जनउत्तरदायी बनाउन संविधानले दिएको म्यान्डेट पालना गर्न राष्ट्रसेवकहरूलाई आग्रह गरे। ‘सरकार जनताको घरदैलोमा निजामती सेवकमार्फत पुग्छ। हाम्रो व्यवहारमै सरकारको छवि प्रतिबिम्बित हुन्छ,’ उनले भने।

प्रधानमन्त्री कार्यालयलाई ‘उत्कृष्टता केन्द्र’ बनाउने लक्ष्य
मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई क्षमता, अनुगमन, मूल्यांकन र नीति-समन्वयको उत्कृष्ट केन्द्रका रूपमा उन्नत गर्ने व्यक्तिगत प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad