समाज


शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार २१:७, काठमाडौँ

यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो। जसले चिसो बढाएन मात्रै, ठाउँठाउँमा हिमपात पनि भयो। धानबालीमा ठूलो क्षति पुग्यो। जनजीवन प्रभावित बन्यो। 

अहिले हेर्दा गत वर्षको मंसिरको तुलनामा यसपालि बढी चिसो महसूस भएको छ। अब शीलतहर र हिमपातको समय सुरु भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपात सम्बन्धी पूर्वतयारी तथा राष्ट्रिय प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ।

कार्ययोजना अनुसार, हरेक जिल्लाले आफ्नो भौगोलिक अवस्था हिमपात र शीतलहरको सम्भावित जोखिम तथा अन्य कारकतत्वहरूलाई समेत केन्द्रमा राखेर धमाधम शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेका छन्। धेरैजसो जिल्लाले अबको एक हप्तामै कार्ययोजना तयार पारी लागू गर्नेगरी काम भइरहेको जानकारी गराएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए।

‘राष्ट्रिय कार्ययोजना जिल्लामा गइसकेको छ, भर्खरै हामीले छलफल पनि गर्‍यौँ त्यही आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले आफ्नो काम गरिरहेका छन्,’ भट्टले भने, ‘प्राधिकरणसँगको छलफलमा एक हप्ताभित्र लागू गर्नेगरी काम भइरहेको जिल्लाका प्रजिअहरूले जानकारी गराउनुभएको छ। यसपालि हामीले समयमै प्रतिकार्य योजना बनाएर लागू गरेका छौँ।’

नेपालको तराई-मधेसका जिल्लाहरूमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको असर मंसिरदेखि फागुनसम्म हुन्छ। यसबाट विपन्न वर्गका व्यक्ति, पशुपन्छी, हिउँदो खेतीबाली बढी प्रभावित हुने गरेका छन्। 

वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई बढी समस्या हुने भएकाले यो वेलामा उनीहरूलाई विशेष हेरचाह गर्नुपर्छ। त्यसका आधारमा कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन्। 

राष्ट्रिय कार्ययोजनाका आधारमा जिल्ला जिल्लामा प्रतिकार्य योजनाहरू निर्माण भइरहेका छन्। हिमपात र शीतलहर प्रभावित केही जिल्लामा चुस्त तयारी गरिएको छ। 

हिमपातबाट प्रभावित हुने जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल कात्तिक १० र ११ गतेको बेमौसमी हिमपातले तिलिचो र थोराङ-लामा पर्यटक प्रभावित बनाएको स्मरण गर्दै आठ सय जति पदयात्रीलाई उद्धार गर्नुपरेको सुनाउँछन्। अब पनि त्यस्तै हिमपात हुने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरिएको पौड्यालले बताए। त्यसवेला थोराङ-ला क्षेत्रमा दुई जना भारतीय नागरिकको मृत्यु भएको थियो। 

उनका अनुसार गएको १५ वर्षको अवधिमा १५ जनाको मृत्यु भएको र अन्य समयमा भने ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। यसपालि पनि मानवीय क्षति नहोस् भनेर समयमै हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको र केही दिनमै लागू हुने उनले बताए। 

‘अब हामीले टुरिस्ट गाइडहरू नभएका पर्यटकलाई यो वेला पठाउँदैनौँ, अन्य समूहमै पठाउनेछौँ, विद्युत् र फोनका समस्याले गर्दा केही कठिनाइ हुने हुँदा सोहीअनुसारको प्रतिकार्य योजना बनेको र एक हप्तामै लागू हुन्छ,’ उनले भने। 

यस्तै, हिमपातबाट प्रभावित हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले केही दिनमै प्रतिकार्य योजना तयार हुने बताउँछिन्। ‘हिमबाढी र हिमपहिरोमै हामी प्रतिकार्य योजना केन्द्रित गर्छौँ, यहाँ रेस्क्यु टिमसहित ड्रोन र प्रहरी जनशक्ति थप भएमा प्रतिकार्यका लागि सहज हुन्छ, त्यसको प्रयासमा लागिरहेका छौँ,’ पाण्डेले भनिन्। 

यता शीतलहर प्रभावित जिल्ला महोत्तरी र रौतहटमा पनि पनि पूर्वतयारी गरिएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सम्भावित जोखिम क्षेत्र पहिचान गरी प्रतिकार्य योजना निर्माण गरिएको बताए। 

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल बागमती लालबकैया नदीले चिरेको रौतहट बाढीसँगै हुस्सु शीतलरबाट समेत प्रभावित जिल्ला भएको बताए। शीतलहरका समयमा रौतहटमा चिसोलगायत घुर ताप्दा विभिन्न कारणले जोखिम बढ्नुका साथै सोही समयमा दुर्घटनासमेत दोब्बरले बढ्ने उनको भनाइ छ। 

यस्तै, निमोनियाका बिरामी अत्यधिक वृद्धि हुने भएकाले सोहीअनुसारको तयारी गरी प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको उनले बताए। 
प्राधिकरणका अनुसार शीतलहरबाट कोशीका झापा, सुनसरी, मोरङ, मधेस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा, बागमतीमा चितवन, गण्डकीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व), लुम्बिनीमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिममा कैलाली र कञ्चनपुर प्रभावित हुने अनुमान गरिएको छ। यस्तै हिमपातबाट कोशीका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम,  ओखलढुङ्गा, भोजुरको माथिल्लो क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ।

त्यसैगरी, बागमतीको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा र धादिङ गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, कास्की, लुम्बिनी प्रदेशको रुकुमपूर्व, कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला बैतडी र डडेलधुरा जोखिममा रहेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले ती क्षेत्रहरूमा कुनै पनि क्षति व्यहोर्नुनपर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन्। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad