बंगालको खाडीमा चक्रवात विकास भएपछि भारतको मौसम विभागले भारी वर्षाको चेतावनी जारी गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको मौसम विभागले अन्डमान र निकोबार द्वीपमा भारी वर्षा हुने भन्दै चेतावनी जारी गरेको हो।
समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘आज (नोभेम्बर २१) देखि चक्रवात तीव्र हुने सम्भावना छ।’
भारतीय मौसम विभागका अनुसार, निकोबार द्वीपका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा (७ देखि २० सेन्टिमिटरबीच) हुने सम्भावना धेरै छ भने अन्डमान टापुमा पनि भारी वर्षा (७ देखि ११ सेन्टिमिटर बीच) हुने आकलन गरिएको छ।
अधिकारीले भने, ‘नोभेम्बर २४ र २५ मा अन्डमान र निकोबार द्वीपका विभिन्न स्थानमा आँधी र तेज हावा (४०-५० किलोमिटर प्रतिघण्टा) चल्ने र बिजुली जाने सम्भावना उच्च छ।’
यस्तै अन्डमान सागरमा हावाको गति ३५-४५ किलोमिटर प्रतिघण्टा हुने र ५५ किलोमिटर प्रतिघण्टासम्म पुग्ने सम्भावना देखिएको भारतको मौसम विभागले जनाएको छ।
यसैबीच हामीले त्यस चक्रवातको प्रभाव नेपालमा पर्छ कि पर्दैन भनेर मौसम पूर्वानुमान महाशाखाका मौसमविद्लाई सोधेका छौँ।
‘त्यो त्यही ठाउँमा मात्र सीमित हो त्यसले तत्काल नेपालमा असर गर्ने देखिँदैन’, महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने ‘कम्तीमा ३ दिनसम्म त्यसले यहाँ असर पार्ने देखिएको छैन।’
यद्यपि त्यसले आंशिकसम्म प्रभाव पार्ने सम्भावना भने रहेको उनले बताए।
‘त्यसले बादल मात्र ल्याउने सम्भावना बढी छ, अहिले त्यसलाई हामीले हेरिरहेका छौँ’, मौसमविद् अधिकारीले नेपालखबरसँग भने, ‘अहिले त्यो त्यति धेरै माथि आएर अस्तितिरको जस्तो असर गर्ने देखिँदैन।’
Shares

प्रतिक्रिया