विलियम अकन समुदायका हुन्। एक यस्तो समुदाय जहाँ वंश र पहिचान आमाको साम्राज्यमा चल्छ। यही परम्पराका कारण आमा जन्मिएको गाउँ अदन्सी अयासेसँग उनको असाध्यै गहिरो सम्बन्ध छ। त्यो गाउँ, त्यो माटो, त्यो संस्कार सबै विलियमका सांस्कृतिकको जरा बनेर बसेका छन्।
घानाको अडान्सी ओल्ड–आयासेमा सन् १९९८ मा विलियम अर्हिन जन्मिए। बाल्यकाल कुमासीमा बिताए। कुमासी, घानाको सुन्दर सहर हो। उनका बाल्यकाल हाँसो, खेल, सपना सबै यही सहरका गल्लीहरूमा बिते।
मातृ सत्ताको प्रभाव अकन समाजमा बच्चाले आफ्नो पहिचान, कुल वा वंश आमाबाट पाउँछन्। बुबाको जात वा कुलभन्दा आमाको कुल निर्णायक हुन्छ। परिवारको अस्तित्व र सत्ता संरचना महिलाको वंशसँग गाँसिएको हुन्छ। सम्पत्ति, अधिकार, पद वा नेतृत्वको उत्तराधिकार आमाका दाजुभाइ वा आमाका छोरीमा हस्तान्तरण हुन्छ। विवाहपछि महिलाले आफ्नो मूल थलो (कूल) गुमाउँदिनन्।
अर्हिन परिवारको एउटा साधारण घर, जहाँ बिहान–बेलुकाको दिनचर्या सधैँ एकै स्वरमा सुरु हुन्छ र अन्त्य पनि। त्यो भनेको विलियमका बुबाले सञ्चालन गर्दै आएको सानो विद्यालय हो। उनका पिता विद्यालयका संस्थापक, प्रशासक र पास्टर तीनै भूमिकामा छन्। घरको आर्थिक अवस्था खासै धनी हैन तर परिवार मेहनती, अनुशासित र आत्मसम्मानमा अत्यन्त सम्पन्न छ।

अकनहरूको परम्परागत राजा–रानी (चिफ क्विन मदर्स) प्रणाली पनि मातृ वंशमै आधारित छ। क्विन मदर (मातृ वंश प्रतिनिधि महिला) ले नै नयाँ राजा(मुखिया) छनोटमा प्रमुख भूमिका निर्वाह गर्छन्। हो यही परिवारमा हुर्किएका हुन् विलियम। त्यही बीउ पछि ठूलो सपनाको रुख बन्यो। विश्वसँग संवाद गर्ने, फरक संस्कृतिसँग हातेमालो गर्ने र आफ्नो गाउँ, देश र पहिचानलाई टाढासम्म पुर्याउने इच्छामा रूपान्तरित भयो।
युनिभर्सिटी अफ घानामा पोलिटिकल साइन्स र चाइनिज भाषा पढ्न थालेपछि उनको संसार फैलिँदै गयो। चाइनिज चलचित्रहरूले उनीभित्र भाषा र संस्कृति बुझ्ने गहिरो चाहना जगाइदियो।
उनी भन्छन्, ‘कहिल्यै नबुझिएको चिनियाँ गीत सुनेर मात्र चाख लाग्ने संवाद, अनि आँखामा चम्किने चीनका दृश्यहरू यी सबैले मलाई एउटा दिशातिर धकेल्दै लग्यो।’ अध्ययनको सुरुवाती चरणमै उनले चिनियाँ संस्कृति (विशेष गरी चलचित्रहरू मार्फत) र भाषाप्रति गहिरो रुचि आएको बताए। उनका अनुसार, चिनियाँ सरकारद्वारा प्रदान गरिने छात्रवृत्तिले हामीजस्ता विद्यार्थीलाई चीनमा अध्ययन गर्ने सपना पूरा हुन सजिलो बनाइदियो।
मार्च २०२३ मा उनी चीन पुगे। युनिभर्सिटी अफ घाना र झेजिअङ युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यको कारण सोही विश्वविद्यालयका एक शिक्षकमार्फत यो अवसर प्राप्त भएको उनी बताउँछन्। सुरुमा शेन्याङ नर्मल युनिभर्सिटीका ढोकामा पहिलो पटक उभिँदा मौसमको चिसो छालझैँ लागिरहेको थियो। घानामा जाडो हुँदैन। त्यसैले शेन्याङको हावा उनको छाती छुने बित्तिकै उनको मनमा प्रश्न उठ्थ्यो, ‘के म यहाँ सकुँला र’ चीनको उत्तर–पूर्वी संस्कृति उनले दक्षिण चीनमा सिकेका अनुभवभन्दा निकै फरक थियो। त्यही फरकपन पछि आकर्षण बन्यो।

विलियम सोच्थे, ‘कडा मेहनत कहिल्यै व्यर्थ हुँदैन।’ उनको जीवनमा मेहनतले साँच्चीकै चमत्कार गर्यो। केही समयमै उनले चीनमा आयोजित चीनका कथाहरू सुनाउन चिनियाँ भाषा प्रयोग गर्दै (युजिङ चाइनिज टु टेल चाईनाज टेल स्टोरिज) प्रतियोगितामा देशभरका विद्यार्थीहरूबीच प्रतिस्पर्धा भयो। उनी दोस्रो भए। चीनको मुख्य टेलिभिजन सिसिटिभीले उनको अन्तर्वार्ता प्रसारण गर्यो, त्यस्तै चाइना एजुकेसन नेटवर्कमा प्रत्यक्ष प्रसारण भयो। शेनयाङ नर्मल विश्वविद्यालयले ग्लोरिअस स्टार २०२४ को उपाधि दिएर सम्मानित गरेकोमा उनी असाध्यै उत्साही छन्।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालयसँग मिलेर उनले विभिन्न मुलुकका अधिकारीहरूलाई स्वागत गर्ने अवसर प्राप्त गरेका छन्। चीनबारे जानकारी दिन्छन्। संस्कृतिको प्रतिनिधि भनेका उनले आफूलाई स्वयंसेवी अनुवादकको रूपमा चिनाएका छन्। उनको नम्र स्वभावले पनि विश्वविद्यालयले उनलाई विश्वासिलो पात्रको रूपमा उभ्याएको छ। समय बित्दै जाँदा विश्वविद्यालयमा मात्र होइन, स्थानीय समुदायमा पनि उनले आफ्नो उपस्थिति बनाउँदै लगेका छन्।
अब चीन उनको अध्ययनको मात्र स्थान रहेन। अहिले उनी मास्टर्सको अन्तिम सेमेस्टरमा छन्। उनको आँखा अर्को यात्रातिर फर्किसकेको छ, उनी चीन घाना कूटनीति सम्बन्धको बारेमा पीएचडी गर्ने सपना बोकेर अघि बढ्दै छन्। उनलाई यो काममा परिवारले पूर्ण समर्थन गरेको छ। उनी अनुवादकको कामलाई काम भन्दैनन्, हरेक दिन अन्तर्राष्ट्रिय सेमिनारमा पुगेका पाहुनालाई गर्ने सहयोग र सत्कारलाई पनि उनी आफ्नो कामको रूपमा लिँदैनन्। उनी यसलाई आफ्नो स्वयंसेवाको रूपमा व्याख्या गर्छन्। उनी भन्छन्, ‘यस्तो अवसर पाउनु नै ठूलो सौभाग्य हो।’
Shares

प्रतिक्रिया