समाज


चैनपुरबासीले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए

चैनपुरबासीले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १५:५०, किमाथाङ्का (सङ्खुवासभा)

सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन्। द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन्।

विसं २०५९ वैशाख १४ गते तत्काली माओवादीद्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए। 

त्यतिबेला आगलागीमा नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिए। उनका अनुसार नापनक्सा सकिएका चैनपुर–९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीले लालपुर्जा पाएका छन्।

कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए। विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो।

हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको प्रमुख नेपालले जानकारी दिए। उनका अनुसार सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म सात हजार ५०० हेक्टरको नापनक्सा सम्पन्न भइसकेको छ।

कार्यालय प्रमुख नेपालले चैनपुर–५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको जनाउँदै नक्साका लागि संवेदनशीलता र प्रक्रियाका कारण चार पटकसम्म लाग्ने उल्लेख गरे। बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहनेलगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad