राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन्।
बिहीबार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन्।
उनले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताए। नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको अध्यक्ष दाहालले बताए। यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको उनको भनाई थियो।
आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताए।
उनले भने, ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन। यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो। त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौँ। प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसक्यो। जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो। केही प्रगति भएको अनुभुति भएको छ। अझ रफ्तारमा लैजानुपर्छ। वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ।’
अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताए।
Shares

प्रतिक्रिया