समाज


बालबालिकालाई स्कुलमा दैनिक एक गिलास दूध

बालबालिकालाई स्कुलमा दैनिक एक गिलास दूध

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १५:१७, काठमाडौँ

म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकालाई विद्यालयमा दूध वितरण गर्न थालेको छ।  

बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक-एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए। 

मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस  तीन सय ७७ बालबालिका अध्ययन गरिरहेका छन्। दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी १५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउँछ। यो कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा ११ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ।

गाउँपालिकामा रहेका ४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन्। एक वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ।

तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि सुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको रोकाले बताए। 

गत वर्ष यस कार्यक्रमबाट तीन सय ७३ जना बालबालिका लाभान्वित भएका थिए। विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ। 

विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन्। स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad