एसईई उत्तीर्ण गरेर इटहरीबाट काठमाडौँ गएका श्रीयम चौलागाईको एउटै लक्ष्य थियो, उच्च शिक्षा हासिल गर्ने। त्यसैले उनी राजनीतिक क्रियाकलापमा पनि सहभागी हुँदैनथे। तर, राजनीतिकै कारण उनको चाहना अधुरै रह्यो।
मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका श्रीयम जेनजी आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा ढले। प्रहरीको गोली लागेर स्कुले पोसाकमै सडकमा ढलेका उनी होसमा आएनन्। उपचार गर्दागर्दै ज्यान गयो।
इटहरीबाट एसईई सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएका उनी ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत थिए। राजनीतिमा सक्रिय नभए पनि जेनजीको आन्दोलनले उनलाई आकर्षित गरेको थियो। जसले गर्दा आन्दोलनमा गएका १८ वर्षीय श्रीयम स्कुलको पोसाकमै प्रहरीको गोली लागेर नयाँबानेश्वर सडकमा ढलेका थिए।
श्रीयम आमाबुबासँगै काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोलामा कोठामा बस्दै आएका थिए। उनको निधनसँगै ५२ वर्षीय बुबा गणेशप्रसाद र ४४ वर्षीय आमा गङ्गा आफ्नो आशा, भरोसा सेलाएको बताउँछन्।
गणेश पेशाले यातायात व्यवसायी हुन्। छोराको पढाइकै लागि परिवारै काठमाडौँ आएको बताउँदै बुबा गणेश भन्छन्, ‘पढाइमा राम्रो भएकाले मोरङबाट काठमाडौँ ल्याएर राम्रो कलेजमा भर्ना गराएका थियौँ।’
गणेश र गंगाका दोस्रो सन्तान हुन्, श्रीयम। उनकी दिदीको विवाह भइसकेको छ। उनको मृत्युले परिवारलाई सम्हालिनै मुस्किल भएको गणेश सुनाउँछन्।
अहिले गणेश जेनजी सहिद परिवार सङ्घर्ष समितिमा पनि आबद्ध भएका छन्। मृतकको परिवारलाई न्याय महसुस गराउन राज्यसँग १४ बुँदे मागसहित समिति बनाएर लागिपरेको गणेश बताउँछन्। भदौ २३ गतेको घटनाका दोषीलाई कारबाही, मृतक परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पेन्सन लगायत माग गरिएको छ। त्यसमध्ये कतिपय माग पूरा हुँदै गरेको गणेश बताउँछन्।
यति ठूलो राजनीतिक घटनाक्रममा भएका सहिदप्रति कोशी प्रदेश सरकार र बेलबारी नगरपालिकाले कुनै चासो नदेखाएकोप्रति दुःख लागेको गणेशको भनाइ छ। जुन उद्देश्यका लागि श्रीयम र अरू थुप्रै नवजवानले ज्यान दिए, त्यो उद्देश्यअनुरूप देश बनाउन सरकार र राजनीतिक दल एकजुट हुनुपर्ने उनी बताउँछन्।
भदौ २३ गते श्रीयम देशलाई सुशासन साथै दिगो निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनमा सहभागी बनेका थिए। सबै मिलेर उनीहरूको सपना पूरा गर्नुपर्ने श्रीयमका काका राजन चौलागाई बताउँछन्। ‘हामीले हाम्रो सन्तान गुमायौँ, देशले एक असल युवा गुमायो। सहिदको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ,’ राजन भन्छन्।
श्रीयमका मामा केशव कार्की भाञ्जा पढाइमा तेज रहेको सुनाउँछन्। पढाइमै केन्द्रित रहने भएपछि जेनजीको आन्दोलनमा सहभागी बताउँदै केशव भन्छन्, ‘राजनीतिमा खासै चासो थिएन जस्तो लाग्छ तर त्यो आन्दोलनमा जान्छु होला भनेर दुई दिनअघि मात्र विदेशमा रहेकी दिदीसँग कुरा भएको रहेछ।’
श्रीयमले इटहरीस्थित मामासँगै बसेर कक्षा ९ र १० पढेका थिए। भदौ २३ गते केशव रङ्गशालामा खेलाडी छनोट प्रक्रियामा थिए। एक्कासि भाञ्जालाई गोली लागेको खबर सुनेर आत्तिएको उनी सुनाउँछन्। ‘म आफैँ ट्रमा सेन्टर पुगेको थिएँ, जहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेँ, एक्कासि टाउको फुट्ला जस्तो भयो। सम्हालिन धेरै बेर लाग्यो,’ मामा केशव भन्छन्, ‘सँगै हुर्काएको र पढाएको अनिसँगै हिँडेको सम्झनाले भतभती पोलिरह्यो। घरमा खबर गर्ने हिम्मत पनि तुरुन्त जुटेको थिएन।’
श्रीयमले कक्षा ९ र १० को अध्ययन सुनसरीको इटहरी-५ स्थित रहेको मकालु बोर्डिङ स्कुलबाट गरेका थिए। पढाइमा राम्रो रहेको बताउँदै स्कुलका पिन्सिपल थानेश्वर ढकाल भन्छन्, ‘श्रीयम पढाइमा अत्यन्तै लगनशील, मेहनती र इमान्दार विद्यार्थी थिए, उसका साथीहरू र शिक्षक शिक्षिकाका प्रिय थिए श्रीयम।’
जेनजी आन्दोलनमा ज्यान गुमाएका श्रीयमको सम्झनामा विद्यालयले केही स्मरणीय कार्य गर्ने योजना बनाएको प्रिन्सिपल ढकाल बताउँछन्। सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको गरिसकेको छ। (रासस)
Shares

प्रतिक्रिया