समाज


लकडाउनमा खेलाँचीः नागरिकलाई हैरानी, संक्रमणको जोखिम बढ्यो

लकडाउनमा खेलाँचीः नागरिकलाई हैरानी, संक्रमणको जोखिम बढ्यो

उजिर कार्की
बैशाख १६, २०७७ मंगलबार १४:२४,

सरकारले सोमबार लकडाउन थप प्रभावकारी पार्न सबै जिल्लामा परिपत्र जारी गर्‍यो। त्यही दिन थानकोट नाकाबाट सयौं यात्रु राजधानी प्रवेश गरे।

सोमबार बिहान देशका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्न लागेका डेढसय बढी यात्रुलाई नागढुंगामा रोकियो।

ती सबै दिनभर नागढुंगामै बसे। साँझ उनीहरुले काठमाडौं प्रवेशको अनुमति पाए।

लकडाउनको पालना कसरी भइरहेको छ, यो एउटा उदाहरण मात्र हो। सरकारले कहिले घरबाट निस्किनै नदिनेगरी कडाइ गरेको छ, कहिले सयौँ किलोमिटर यात्रा गर्न दिएको छ। कोही किनमेलमा जाँदा प्रहरीको कुटाइ खाइरहेका छन्, कसैलाई सडकमा प्रदर्शन गर्न दिइएको छ।

एक महिनाभन्दा बढी समयदेखि मुलुक लकडाउनमा छ। देशको राजनीतिक नेतृत्व सत्ताको किचलोमा व्यस्त छ। परिणाम के हुन्छ भन्ने नसोची निर्णय भएका छन्। केही घण्टामा निर्णय उल्ट्याइएको छ। सरकारकी निर्देशन पालनामा मनपरी गरिएको छ। जसका कारण नागरिक त अन्यौलमा परेका छन् नै, भाइरस संक्रमणको जोखिम पनि बढेको छ।

केही दिनअघि राजधानीमा अलपत्र परेका र घर फर्किन चाहनेहरुलाई बिनापास मन्त्रीसमेतको संलग्नतामा रातिराति घर पठाइएको थियो।

यसप्रति गृह प्रशासनले थाहा नपाएजसरी बस्यो। हजारौँ नागरिक गाउँ फर्किए।

त्यसपछि धेरैलाई लाग्न थाल्यो, लकडाउन अब बिस्तारै खुकुलो हुँदै जान्छ र आवागमन सहज हुन्छ। तर गृह प्रशासनले सोमबार बिहान लकडाउनलाई थप प्रभावकारी बनाउन एक्कासि परिपत्र गर्‍यो।

‘हामीले लकडाउन खुकुलो पार्न भनेकै छैनौं। तर यो बीचमा पास बिनै पनि आवागमन भइरहेको छ भन्ने सूचना पाएपछि थप कडाइ गर्न भनेका हौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने।

सरकारले लकडाउनका बेला अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। अत्यावश्यक परे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ। जिल्ला प्रशासनको पास भए जान दिने नत्र आवागमन रोक्ने निर्देशन पहिले नै दिइसकिएको प्रवक्ता शर्माले बताए।

यसबीचमा हजारौँ मानिस कसरी घर गए त भन्ने प्रश्नमा उनी अनविज्ञता दर्शाउँछन्।

‘माथिल्लो तहमा अनौपचारिक निर्णय भएको होला,’ शर्माले भने, ‘मैले लिखित निर्णयमा रहेर मात्रै कुरा गर्न सक्छु।’

तर, लकडाउन कार्यन्वयनमा सरकारको दोहोरो चरित्र र खेलाँचीले कोरोना संक्रमणको जोखिम बढाउने जनस्वास्थ्य विज्ञ बताउँछन्।

‘लकडाउन भनेको मन लागे खोल्ने र मन नलागे बन्द गरिदिने सामान्य प्रक्रिया होइन, गम्भीर प्रक्रिया हो,’ जनस्वास्थ्य विज्ञ शरद वन्त भन्छन्, ‘यो खुसीले रहरले गरिएको होइन। सुरुकै दिनदेखि कडाइका साथ कार्यान्वयन गरिनु पथ्र्यो।’

काठमाडौँबाट गाउँ फर्केकाहरु पनि क्वारन्टिन वा दूरी कायम गरेर बसेका छैनन्। यसले जोखिम झनै बढाएको छ।

सुरुमा सुनसान बनेका राजधानीका सडकमा बिस्तारै चहलपहल थपिँदैछ। थुप्रै दिन रोजीरोटीको मेसो छाडेर नागरिकहरु घरभित्रै बसे। तर उनीहरुको रोजीरोटीका लागि सरकारले योजना ल्याएन, सामाजिक दूरी कायम गर्न र लकडाउनमा कोही घरबाहिर ननिस्कने मात्रै भनिरह्यो।

‘घरभित्र थुनेर केही दिन बस्लान्, सधैं सम्भव हुँदैन,’ वन्त भन्छन्, ‘व्यवस्थापनमा सरकारका केही कमी कमजोरी रहे। रोजगारी टुट्यो, बिहानबेलुका चुलो बल्न छाड्यो, अनि नागरिक बाहिर निस्कन थाले।’

लकडाउनलाई केही खुकुलो पार्नु पर्ने कुरा सरकारभित्रैबाट उठेको पनि हो। राजधानीमा अलपत्र सर्वसाधारणलाई गाउँ पठाउने सरकारको उच्चस्तरीय समितिले नै निर्णय गर्‍यो। तर निर्णय घोषित कार्यन्वयन हुन सकेन। बरु, रातविरात गुपचुप मानिसहरुलाई घर पठाउन थालियो।

मान्छेको चहल पहल बढेपनि कोरोना संक्रमण रोकिएको छैन। आइतबार मात्रै पनि नयाँ संक्रमित भेटिएका छन्। अन्य देशको तुलनामा नेपालमा संक्रमणको गति सुस्त छ, तर संक्रमणको जोखिम अझै उच्च छ।

‘केसहरु छैनन् भनेर ठोकुवा दिन सक्ने अवस्था छैन। अझै केही समय हामीले धैर्य गर्नुपर्छ। महामारीको सम्भावना नकार्ने अवस्था भएको छैन,’ वन्तले भने।

तर अब थपिएको १० दिन लकडाउन प्रभावकारी कार्यन्वयन गर्नु पर्ने उनको सुझाव छ। त्यसपछि जोखिम, कम जोखिम र सुरक्षित क्षेत्रलाई छुट्याएर विस्तारै खुला गर्दै जानुपर्ने उनको सुझाव छ।

उच्च स्तरीय समितिले एक हप्ता लकडाउन थप्न सुझाव दिएपनि सरकारले १० दिन थप्ने निर्णय गर्‍यो।

तर पूर्व गृहसचिव गोविन्द कुसुम लकडाउन कार्यन्वयनको अवस्था प्रभावकारी भएकै कारण नेपालको स्थिति भयावह नभएको बताउँछन्। हाम्रा लागि लकडाउन नयाँ भएकाले व्यक्ति र सरकार उत्तिकै उत्तरदायी हुनु पर्ने उनले बताए।

‘स्थानीय तहले पनि खेलाँची गर्नु भएन, आफ्नो ठाउँका लागि योजना बनाउनु पर्‍यो,’ उनले भने, ‘आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्यले नागरिकका समस्या सम्बोधन गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad