प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ।
कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो। कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभाव, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरुको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको उनले बताए।
अहिले सरकारले उपलब्ध गराएको राहत, त्यसको व्यवहारिकताका विषयमा पनि छलफल भएको छ । यस्तै प्रतिपक्षी दलले राहत वितरणमा कसरी सहजिकरण गर्न सक्छ र सरकार कसरी अगाडी बढ्दा उचित हुन्छ भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए। कांग्रेसले कोरोना महामारीको विषम् परिस्थितिमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको छ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, परिष्ठा नेता रामचन्द्र पौडेललगायतका नेताहरु तथा अर्थशास्त्रीहरु डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, डा. अच्युत वाग्ले, डा. पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा. विश्व पौडेल, राजु नेपाललगायत सहभागी थिए।

प्रतिक्रिया