महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर सम्बन्धि जनचेतना फैलाउन सरकारले पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागेको हो।
मन्त्रालयले विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप यस वर्षदेखि दिवस मनाउने निर्णय गरेको जनाएको छ।
स्वास्थ्य सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर रोकथाम, उपचार र निवारणका लागि दिवस मनाउने निर्णय गरेको जनाए।
मन्त्रालयका अनुसार नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो। क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा यो पहिलो नम्बरमा पर्छ।
रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ। क्यान्सरको कारण प्रतिदिन ४ जना महिलाहरूले ज्यान समेत गुमाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सन् २०३० सम्ममा नेपाल सरकारले कम्तिमा ९० प्रतिशत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाउने, ३० वर्ष माथिका कम्तिमा ९० प्रतिशत महिलाहरुको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तिमा ९० प्रतिशत महिलाहरुको उपचार गर्ने रणनैतिक लक्ष्य लिएको छ।
लक्ष्य प्राप्तिको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीहरुलाई पहिलो पटक निशुल्क खोप सेवा प्रदान गरेको थियो।
यस वर्षको फागुन महिनामा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरुलाई एचपीभी खोप दिने मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया