श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन उनीहरूले माग गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्नुपर्ने चिकित्सकको माग छ।
‘अहिले देशमा दुई दिन बिदा दिने चलन छ, तर हाम्रो हप्तामा एक दिन पनि बिदा हुँदैन, हामी ३६५ दिन नै खटिनुपर्ने हुन्छ,’ उनले भने, ‘यो सबै केही मेडिकल माफिया र केही शिक्षण अस्पतालहरुको आम्दानीको स्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेका छौँ।’
प्रदर्शनरतमा सहभागी डा. प्रज्ञान बस्नेतले एमबीबीएसमा राम्रो अंक लिँदा पनि एमडी पढ्न नपाएको बताए। एक वर्ष काम गर्नै पर्ने व्यवस्थाले समस्या भएको उनको भनाइ थियो।
‘नेपालमा एमबीबीएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ। एक वर्ष काम गरेर मात्र एमडीको अध्ययन गर्न पाइन्छ। तर म यस्तो एक चिकित्सक हो। जसले बारम्बार नेपालको परीक्षामा राम्रो अंक ल्याए पनि नेपालमा एमडी पढ्न सकेको छैन,’ डा. बस्नेतले भने, ‘किनभने नेपालको उच्च शिक्षामा चरम श्रम शोषण छ। हामी डाक्टरको एकै पटठक ३६ घण्टा ड्युटि हुन्छ।’
चिकित्सकले लगातार ३६ घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा दुई दिन बिदा दिइएको समयमा पनि एक दिन पनि बिदा नदिइएको उनले बताए। मेडिकल माफिया र केही शिक्षण अस्पतालको आम्दानीको स्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उनको भनाइ थियो।
‘आम जनसाधारणले सोच्न पनि सक्दैन, कसरी ३६ घण्टा काम हुन्छ। जबकि दिनमा २४ घण्टा हुन्छ,’ उनले सुनाए, ‘हामी आज बिहान ७ बजे गयौँ भने भोलि बेलुका ७ बजेसम्म ड्युटी हुन्छ।’
प्रदर्शनरत प्रशिक्षार्थी चिकित्सकले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्’, ‘मलाई बोल्न दे सरकार’, ‘स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन’, ‘डाक्टरको ३६ घण्टे ड्युटी खारेज गर’, ‘प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर’, ‘सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा?’, ‘रातभर नसुतेको डाक्टर बिरामी छ’, ‘स्वास्थ्य सेवा बिरामी छ’, ‘देश बिरामी छ’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
Shares

प्रतिक्रिया