काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहना पूरा प्रहरीले सहयाेग गर्ने बताएका छन्।
‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा उनले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताएका हुन्।
उनले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेकोमा जाेड दिए।
‘गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिस आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो,’ उनले भने। जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ।
जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएकाे जानकारी दिँदै उनले हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताए। नयाँ भवनबाट प्रहरीले उच्च मनोबलका साथ काम गर्ने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदाय स्तरबाट प्रहरी भवन बनेर समाजप्रति प्रहरीको औचित्यलाई पुष्टि गरिएको बताए।
कार्यक्रममा प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो। रासस
Shares

प्रतिक्रिया