जनप्रतिनिधिले पाउने सेवासुविधालाई कटौती गर्दै महोत्तरीको भंगहा नगरपालिकाले लकडाउनबाट पीडित भएका गरिबहरुलाई राहत वितरण सुरु गरेको छ।
नगरप्रमुखदेखि वडा सदस्यसम्मले पाउने ९ महिना बराबरको तलबभत्ता लगायतको सेवासुविधा कटौती गरी लकडाउन पीडित नगरका गरिब तथा विपन्नलाई राहत वितरण सुरु गरेको नगरप्रमुख संजिव साहले बताए।
पहिलो चरणमा राहत वितरण गर्न वडा नं. १ देखि ९ सम्म ५ हजार गरिब तथा विपन्न परिवारको नामावली संकलन गरिएको उनले जानकारी दिए। राहतमा चामल, दाल, नुन, खानेतेल जस्ता खाद्यान्न समाग्री वितरण गर्न सुरु गरिएको छ।
कार्तिक महिनादेखि अगामी असार मसान्तसम्मको कुनै प्रकारको सेवासुविधा नगरपालिकाबाट नलिने र सो रकमबाट लकडाउनमा भोकभोकै रहेका गरिब तथा विपन्नलाई राहत वितरण गर्ने निर्णय कार्यपालिका बैठकबाट गरेको थियो।
आर्थिक वर्ष २०७६।०७७ को लागि भंगहा नगरपालिकाको नगरसभाले जनप्रतिनिधिका लागि दैनिक भ्रमण भत्ता, संचार खर्च, चियाखाजा खर्च लगायतको खर्चका लागि ६० लाख रकम विनियोजन गरेको थियो। पहिले त्रेमासिक साउन, भदौ र असोजको तलबभत्ता तथा सेवासुविधा जनप्रतिनिधिले बुझिसकेका छन् भने अब बाँकी ९ महिनाको नलिने र त्यसैबाट राहत वितरण गर्न थालेका छन्।
‘राहत वितरणका लागि कार्यपालिका बैठकबाटै बाँकी ९ महिनाको कुनै प्रकारको सेवासुविधा जनप्रतिनिधिले नलिने निर्णय भएको थियो। त्यहि रकमलाई रकमान्तर गरेर विपद व्यवस्थापन कोषमा लगेर राहत खरिद गरी वितरण सुरु गरेका छौं।’ नगरप्रमुख साहले भने ‘अगामी दिनमा पनि यो ९ महिनाको सेवासुविधाको रकम जनप्रतिनिधिले लिन नपाउने निर्णय भएको छ।’
लकडाउनले बेरोजगार भएका गरिवहरुले राहत पाएपछि खुशी भएका छन्।
प्रदेश सरकारले लकडाउनबाट संकटमा परेका परिवारलाई राहत वितरण गर्न पनि नगरपालिकालाई १५ लाख खातामा पठाएको थियो।

प्रतिक्रिया