प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले -यापिड डाइग्नोष्टिक (आरडीटी) परीक्षणमा मात्रै भर पर्न नसकिने बताएको छ।
आरडीटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका बेला यसको भर पर्न नसकिने भएकाले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले बताएको हो। आइतबार पार्टी कार्यालय सानेपामा पार्टीका पूर्व स्वास्थ्यमन्त्री र चिकित्सकहरुसँगको छलफलपछि कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो बताएको हो।
छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लक डाउनको समुचित उपयोग गर्न सरकार चुकेकोले आरडिटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताए। चिकित्सकहरुका लागि आवश्यक अति आवश्यक स्वास्थ्य सामग्रीहरु प्रयाप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरुलाई हतोत्साहित गर्नुके सट्टा साथ दिनुपर्ने प्रवक्ता शर्माले बताए।
कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । कोरोनाले मात्रै विरामीको मृत्य नहुने भएकाले अन्य रोगका विरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।
छलफलमा सहभागि चिकित्सक डा. केदार नरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताए। कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासहरु प्रयाप्त नभएको, घोषणा गरेअनुसार जनताले राहत पाउन नसकेकोले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उनले बताए।
कोरोनाको जोखिम सामना गर्ने क्रममा भएका प्रगति, कमजोरी, सरकारले गरेका काम र गर्न नसकेका कामका विषयमा छलफल गर्न पार्टी पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिएको हो।

प्रतिक्रिया