समाज


दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

३ जनाको मृत्यु भएको पुष्टि, ४ विदेशी नागरिक बेपत्ता
दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १०:३१, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले सोमबार रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको जानकारी दिएका छन्। 

दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिजो हिमपहिरो जाँदा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो। घटनालगत्तै स्थानीय प्रशासनले हिम पहिरोमा परेर आठ जना बेपत्ता भएको जानकारी दिएको थियो। 

तर, डीएसपी महतोले अहिलेसम्म चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको पुष्टि गरे। ‘ती चारैजना विदेशी आरोही हुन्,’ उनले नेपालखबरसँग भने, ‘बेपत्ता हुनेमा नेपाली छैनन् भन्ने सूचना हामीले पाएका छाैँ।’

घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिरहेको उनले बताए।  

‘हिम पहिरोमा परेर घाइते भएका चार जनालाई घटनास्थलबाट उद्धार गरेर आज बिहान उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाएका छौँ,’ उनले भने, ‘तीनवटा डेथबडी अहिले पनि घटनास्थलमै छ।’ 

प्रहरी र सेनाको उद्धार टोली हिजै घटनास्थलतिर गएको भए पनि आज बिहानबाट मात्रै उद्धारको काम सुरु भएको उनले बताए। 

हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सातजना विदेशी गरि जम्मा १४ जना मात्रै गएका खुलेको डीएसपी महतोको भनाई छ। 

हिम पहिरोमा परेर घाइते भएका चारजना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका थिए। उनीहरूले खबर गरेपछि मात्रै आरोहीहरू हिम पहिरोमा परेको खुलेको थियो। मृतक र घाइतेको नाम भने प्रहरीले अझै खुलाएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad