समाज


आधासरो विद्यार्थी प्रवेश परीक्षामै फेल भएपछि कृषि विश्वविद्यालयका ४५१ सिट खाली

मेरिट प्रणाली अनुसार भर्ना गर्न माग राख्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
आधासरो विद्यार्थी प्रवेश परीक्षामै फेल भएपछि कृषि विश्वविद्यालयका ४५१ सिट खाली

प्रज्ञा तिम्सिना
कात्तिक १६, २०८२ आइतबार १९:४०, काठमाडौँ

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को केन्द्रीय क्याम्पसदेखि सम्बन्धन प्राप्त क्याम्पसहरूमा ४५१ सिट खाली जाने भएको छ। प्रवेश परीक्षामै थुप्रै विद्यार्थीलाई फेल गरिएपछि सिट रिक्त रहने भएको हो।

विश्वविद्यालयले गत भदौ र असोजमा लिएको प्रवेश परीक्षामा ५० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। १ हजार ५०७ जना प्रवेश परीक्षामा सामेल भएका थिए। जसमा ७५९ जना विद्यार्थी मात्र प्रवेश परीक्षा उत्तीर्ण गरेका छन्।

विश्वविद्यालयले कृषि, भेटरीनरी र वन गरी तीन संकायमा आङ्गिक र सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा १ हजार २१० सिट निर्धारण गरेको छ। 

उपकुलपति शारदा थपलियाले ५० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकाले केही कलेजमा सिट खाली जाने बताइन्। प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्ने विद्यार्थीलाई पढाउन नसकिने उनको भनाइ छ।

‘स्नातक तह पढ्न ५० प्रतिशत नम्बर त ल्याउनु पर्छ। प्रवेश परीक्षामा ५० प्रतिशत पनि नम्बर नल्याउने विद्यार्थी पढ्नलाई कसरी योग्य हुन्छन्?’ उपकुलपति थपलिया भन्छिन्, ‘प्रवेश परीक्षा अनुत्र्तीण गर्ने विद्यार्थीलाई भर्ना गर्न सकिँदैन।’

भर्ना प्रक्रिया चलिरहेको भन्दै उपकुलपति थपलियाले कुन कलेजमा कति सिट खाली जान्छ, अहिले नै भन्न नसकिने बताइन्। 

प्रवेश परीक्षामा मेरिट प्रणाली लागू नभएको भन्दै उनले केही निजी कलेजमा वर्षौँदेखि विद्यार्थी भर्ना नभएको बताइन्। 

कृषि तथा वन विज्ञान विषयमा कृषि विज्ञानतर्फ १ केन्द्रीय कलेज सहित ८ आङ्गिक र ७ सम्बन्धन प्राप्त गरी १६ कलेजमा ९ सय १५ जना विद्यार्थीले पढ्न पाउने कोटा निर्धारण भएको छ। 

त्यस्तै, २ वटा आङ्गिक र १ सम्बन्धन प्राप्त वन विज्ञान कलेजमा १ सय ९५ विद्यार्थी पढ्न पाउने गरी कोटा निर्धारण भएको छ। १ भेटरीनरी कलेजमा १ सय कोटा निर्धारण गरिएको छ। 

विश्वविद्यालयले कृषि, वन र भेटरीनरी तीनै संकायमा भदौ र असोजमा एकीकृत प्रवेश परीक्षा लिएको थियो। 

रुकुममा ५० को ठाउँमा एक जना भएनन्, केन्द्रीय क्याम्पसमै सिट खाली 
रुकुम जिल्लामा अवस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि संकायमा यस वर्षको सिट खाली जाने भएको छ। ५० जना विद्यार्थी पढाउने स्वीकृति पाएको कलेजमा एक जना पनि विद्यार्थी गएनन्। 

प्रदेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी संख्या कम भएकाले स्नातक तह पहिलो वर्षमा ५० सिट खाली गएको कलेज प्रशासनले जनाएको छ। 

बाँकेको खजुरा स्थित कलेजमा सात जनाले मात्रै भर्ना भएका छन्। ५० जना विद्यार्थी पढाउन सिट पाएको कलेजको ४३ सिट खाली गएको छ। 

गैँडाकोटको हिम छाया कलेजको पनि सबै सिट खाली जाने भएको छ। कलेज सञ्चालक छवि कँडेलले भर्नाका लागि एक जना पछिनविद्यार्थी नआएको बताए। 

‘प्रवेश परीक्षापछि विद्यार्थी भर्ना हुन आएका छैनन्, यो वर्ष सिट खाली जान्छ जस्तो छ,’ उनले भने। 

केन्द्रीय क्याम्पस रामपुरमा पनि १८ सिट खाली गएको जनाइएको छ। १६५ जना विद्यार्थी पढाउँदै आएको क्याम्पसमा १४७ जना मात्र विद्यार्थी भर्ना हुन आएको क्याम्पसका एक पदाधिकारीले बताए। 

सिन्धुलीको कपिलाकोटमा अवस्थित क्याम्पसमा ५० मध्ये २९ सिट खाली छ। धनकुटाको पाख्रिबासमा रहेको कलेजमा ५० मध्ये ३१ सिट, कैलालीको टीकापुरमा २७ सिट  र महोत्तरीको बर्दिबासमा २८ सिट खाली गएको छ। 

कृषि तथा वन विश्वविद्यालय पनि विद्यार्थी संख्याको तुलनामा बढी अनुदान पाउनेमा पर्छ। गत वर्ष १ विद्यार्थी बराबर १ लाख ७९ हजार रूपैयाँ अनुदान पाएको थियो। विश्वविद्यालयमा ४ हजार ६६ जना मात्र विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ५२ लाख राज्यकोषबाट पाएको छ।

मेरिट प्रणालीमा विद्यार्थी भर्ना गर्न माग 
इटहरीस्थित जीविका कलेज अफ एग्रिकल्चर साइन्सका सञ्चालक शिवकुमार डाँगीले प्रवेश परीक्षामा ‘पास–फेल’ नीतिका कारण अधिकांश कलेज रित्तो हुने अवस्थामा पुगेको बताए। 

प्रवेश परीक्षाको नाममा भर्ना हुन चाहने विद्यार्थीलाई रोकिएको भन्दै उनले विश्वविद्यालय गम्भीर नहुने हो भने धेरै कलेज धराशायी हुने बताए। 

‘प्रवेश परीक्षा लिएर पढ्न आउने विद्यार्थीलाई रोकिएको छ। कलेजका सिट खाली राखेर विद्यार्थीलाई प्रवेश परीक्षामा अनुत्र्तीण गर्दा धेरै कलेजका सिट खाली गएका छन्। कलेज छिट्टै धराशायी बन्छन्, यसमा विश्वविद्यालयले समयमा नै सोच्नु पर्छ,’ उनले भने। 

सबै विश्वविद्यालयले मेरिट लिस्ट लागू गरेको भन्दै उनले प्रवेश परीक्षामा फेल गर्ने गलत नीतिका कारण विद्यार्थी र कलेजले नै दुःख पाएको बताए। 

‘विद्यार्थी भर्ना मेरिट लिस्ट अनुसार हुनुपर्छ। पास र फेल गर्ने नीतिले त पढ्न चाहने विद्यार्थी पनि वञ्चित भए,’ उनी थप्छन्, ‘विश्वविद्यालयको गलत नीतिको मारमा कलेज सञ्चालक र विद्यार्थी परेका छन्, यसलाई समयमा नै सुधार नगरे धेरै कलेज बन्द हुने अवस्थामा पुग्छन्।’

डाँगी भन्छन्, ‘विद्यार्थीले पाएको अंकका आधारमा कलेज भर्ना हुन पाउने व्यवस्था लागू गर्नेगरी चिकित्सा शिक्षाको एमबीबीएसदेखि सबै संकायमा मेरिट प्रणालीमा गएको छ। कृषिमा पनि प्रवेश परीक्षामा विद्यार्थीले पाएको अंकमा आधारमा भर्ना गर्नुपर्छ।’

विश्वविद्यालयमा पढ्ने विद्यार्थी संख्या कम हुँदै गएको भन्दै उनले मेरिट प्रणाली लागू नहुने हो भने विदेश जाने विद्यार्थी संख्या बढ्ने बताए। 

‘प्रवेश परीक्षामा नै पास–फेल नीति लागू भए विद्यार्थी विदेश जाने क्रम झन बढ्छ। नेपालमा पढ्न चाहने विद्यार्थीलाई हामीले रोक्ने हो भने विद्यार्थी विदेशिने क्रम झन बढ्छ,’ उनले भने। 

विद्यार्थीले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र 
विश्वविद्यालयले लागू गरेको न्यूनतम अंक अनिवार्य हुनुपर्ने ‘पास–फेल’ प्रणालीका कारण सयौँ विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएको भन्दै विद्यार्थीले आफूहरूलाई भर्ना लिनुपर्ने माग गर्दै शिक्षामन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाएका छन्। 

उनीहरूले प्रवेश परीक्षा प्रणालीमा अपारदर्शिता रहेको र निश्चित संकायलाई मात्र फाइदा पुग्ने गरी प्रणाली बनाइएको आरोप लगाएका छन्। 

सी ग्रेडभन्दा कम नम्बर ल्याउने विद्यार्थीलाई प्रवेश परीक्षामा फारम भर्नबाटै वञ्चित गरिएको भन्दै विद्यार्थीहरूले विश्वविद्यालयलाई आवश्यक पर्ने विद्यार्थी संख्या समेत अनुत्तीर्ण गराएर नेपाल सरकारद्वारा लागू गरिएको नो फेल प्रणालीको धज्जी उडाएको र विद्यार्थीलाई चरम मानसिक यातना दिएको जनाएका छन्। 

प्रवेश परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरूले सबैभन्दा बढी प्रवेश परीक्षामा सहभागी हुने एमबीबीएसमा पनि मेरिटका आधारमा भर्ना लिने गरेको भन्दै विश्वविद्यालयले पुरानो प्रणाली अपनाएको आरोप लगाएका छन्।

‘विश्वविद्यालयलाई आफनै कलेजमा १२ सय १० विद्यार्थी आवश्य पर्छ। अनि ७ सय ५९ उत्तीर्ण गर्छ। युवाहरूलाई नेपालमा बस्न प्रोत्साहित गर्नु पर्नेमा उल्टै हतोत्साहित गर्नु खेदजनक छ,’ उनीहरूले उल्लेख गरेका छन्। 

प्रवेश परीक्षामा पास–फेल प्रणाली हटाएर मेरिटका आधारमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतका कलेजमा नै पढ्न पाउने व्यवस्था हुनु पर्ने माग राख्दै सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनलाई भेटेका छन्।

मेरिट प्रणालीका आधारमा भर्ना नगरे यसबाट हुने क्षतिको जवाफदेही विश्वविद्यालय स्वयं हुनुपर्ने उनीहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad