समाज


घाइते प्रहरीको बयान- हवल्दार गुरुङलाई छतमा भेटेर हत्या गरे, हामी भागेर जोगियौँ

एक युवकविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता
घाइते प्रहरीको बयान- हवल्दार गुरुङलाई छतमा भेटेर हत्या गरे, हामी भागेर जोगियौँ

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १४:१४, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले कैलालीको लम्कीचुहा नगरपालिका-४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारीविरुद्ध सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गराएको हो। 

भण्डारी समेतका आन्दोलनकारीले भदौ २४ गते कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार ३१ वर्षका अमृत गुरुङको हत्या गरेको आरोप छ।

गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा सडकमै फालिदिएका थिए। तर स्थानीयले उनलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगेका थिए। सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो। 

निषेधाज्ञाको समयमा ड्युटीमा खटिएका आफ्ना श्रीमान्‌को हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै उनकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाटै पक्राउ गरेर ल्याएको थियो। इलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा असोज १३ गते पक्राउ परेका भण्डारीले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै बयान दिएका छन्। 

प्रहरी हत्याका आरोपी भण्डारी काठमाडौँकै मेघा कलेजमा १२ कक्षासम्म अध्ययन गरेर घर फर्किएका थिए। करिब २ महिना पहिले भारतको बैंग्लोरमा २ हप्ता क्रिकेट सिकेर फर्किएका उनी आन्दोलनको एकसाता पहिले मात्रै काठमाडौँ आएका थिए। 

काठमाडौँ आएर ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका भण्डारी २३ गतेको आन्दोलनमा भने सहभागी भएका थिएनन्। 
उनले प्रहरीलाई दिएको बयान अनुसार उनी २४ गते दिउँसो १२ बजेतिर आन्दोलनमा निस्किएर कोटेश्वर पुलमा पुगेका थिए। त्यहाँ आन्दोलनकारीले प्रहरीलाई कुट्दै लखेटिरहेका थिए। 

कोटेश्वर प्रभागमा आन्दोलनकारीले आगो लगाइसकेका थिए। कार्यालय जलाएपछि प्रहरीहरू छतबाट एउटा घरबाट अर्को घरको छतमा हामफाल्दै भागिरहेका थिए। यसरी भाग्दा पनि आन्दोलनकारीले ढुंगामुढा गर्दै लखेट्न छाडेका थिएनन्। यसरी लखेट्नेमा भण्डारी पनि सामेल थिए। 

आन्दोलनकारीले एक प्रहरीलाई नियन्त्रणमा लिएर कुट्दै घिसार्दै छतबाट तल झारिरहेका थिए। तेस्रो तलामा रहेका भण्डारीले पनि प्रहरीलाई चक्कु प्रहार गरेका थिए। ती व्यक्तिलाई आन्दोलनकारीले बाथरुममा लगेर ढोका थुनेर रगताम्य छाडिदिएका थिए। 

नजिकै अर्का प्रहरीलाई रगताम्य अवस्थामा सडकमा घिसारिरहेका थिए। ती सहायक हवल्दार अमृत गुरुङ थिए। खुट्टामा समातेर आन्दोलनकारीले सडकमा घिसारिरहेका गुरुङलाई भण्डारीले पनि चक्कु प्रहार गरेको स्वीकार गर्दै बयान दिएका छन्।

अन्य आन्दोलनकारीले पनि लाठी, मुक्कालगायत जे भेट्यो त्यसैले प्रहार गरेका थिए। पूर्ण रुपमा अचेत भएपछि सडकमा छाडेर आफू कोठा फर्किएको बयान भण्डारीले दिएका छन्। 

त्यसको केही दिनमा कैलाली पुगेका भण्डारीलाई प्रहरीले काठमाडौँ ल्याएर अनुसन्धान अगाडि बढाएको थियो। भण्डारीले प्रहरीको हत्या गर्दा लगाएका कपडासमेत प्रहरीले बरामद गरेको छ। 

घाइते प्रहरीको बयान- हामी छतैछत भाग्यौँ
सोही घटनाका बारेमा प्रहरीले कोटेश्वर प्रभागमै कार्यरत प्रहरी कर्मचारीसँग पनि बयान लिएको छ। सहायक हवल्दार गणेश खड्का र जवान मुकेश सुनारले आफूहरु भागेर जोगिएको बताएका छन्। 

अमृत गुरुङसँगै उनीहरु पनि त्यसदिन कोटेश्वर प्रभागको सुरक्षामा खटिएका थिए। सशस्त्र प्रहरी गण नं २ बाटसमेत थप टोली कोटेश्वरमा खटिएको थियो। 

तर त्यसदिन आन्दोलनकारीले आक्रमण गर्न थालेपछि ज्यान बचाउनका लागि आफूहरु भागेको बयान दिएका छन्। खड्काले बयानमा भनेका छन्, ‘हामी ज्यान बचाउनका लागि सुरक्षित ठाउँको खोजिमा जाने क्रममा आन्दोलनकारीहरुले ढुंगामुढा प्रहार गर्दै फेला पारेका प्रहरी कर्मचारीलाई मुक्का, लात्ता, इट्टा, ढुंगा, लाठी जे ले भेट्यो त्यसैले प्रहार गर्दै लखेटिरहेका थिए। त्यसक्रममा कोही प्रहरी कोटेश्वरको सडकबाट भाग्न थाले। कोही एउटा घरदेखि अर्को घरको छतैछत भाग्न थाले।’

उनले थपेका छन्, ‘यसरी भाग्दै जाँदा कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङ र उपत्यका सशस्त्र गण नं २ महाराजगञ्जबाट ड्युटिमा खटिएका सहायक हवल्दार मनीष सिंह ठगुन्ना एउटा घरको छतमा लुकिरहेका थिए। आन्दोलनकारीहरुले भेटेर शरीरमा लगाएका लुगा समेत खोलेर घिसार्दै चक्कु प्रहार गर्दै गम्भीर बनाइ मर्‍यो भनि मरणासन्न अवस्थामा छाडि गएका हुन्।’

मनीष ठगुन्नाको भने उपचारपछि स्वास्थ्यमा सुधार भएको छ। अभियुक्त भण्डारीलाई जन्म कैदको सजाय माग गरिएको छ। यसअघि महाराजगञ्ज बृत्तका दुई प्रहरीको हत्या आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। 

उनीहरुलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ। यी प्रहरीको हत्यामै संलग्न रहेको आरोपमा चप ५ जना पनि अनुसन्धानको क्रममा छन्। प्रहरीले फोटो भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको हो। उनीहरुविरुद्ध पनि पुरक अभियोग लैजाने प्रहरीको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad