समाज


नेपालीका मिर्गौला भारतमा लगेर बेच्ने गिरोहका ६ जना कारागार चलान

नेपालीका मिर्गौला भारतमा लगेर बेच्ने गिरोहका ६ जना कारागार चलान

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १९:५९, काठमाडौँ

संगठित रुपमा मानिसहरूलाई प्रलोभनमा पारी भारत पुर्‍याएर मिर्गौला झिक्ने कसुरका ६ जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन्।

राजकुमार परियार, श्याम कृष्ण भण्डारी, सुजन गिरी भन्ने सुजन भारती, राकेश नेपाली, समिर नेपाली र राजु तामाङ भन्ने राजु घलानलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको हो।

विभिन्न मितिमा पक्राउ परेका प्रतिवादीविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालतमा मुद्दा पेस गरिएको थियो।

उनीहरूलाई कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।

प्रहरीका अनुसार प्रतिवादीहरूले भारतको विभिन्न सहरमा आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई भारत पुर्‍याएर विभिन्न क्लिनिकहरूमा अवैध रुपमा मिर्गौला झिकी भारतबाट नेपाल ल्याई छाडिदिने गरेको अनुसन्धानमा खुलेको छ।

दिएको जाहेरीका आधारमा प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा समीर नेपालीलाई साउन २१ गते काठमाडौंको नयाँबसपार्कबाट, राकेश नेपालीलाई २२ गते टोखा बानियाँटारबाट, राज कुमार परियारलाई पाचँखाल–१० काभ्रेबाट, श्याम कृष्ण भण्डारीलाई भदौ ११ गते कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमानाका र उनका सहयोगी सुजन गिरी भन्ने सुजन भारतीलाई पर्सा प्रहरीको सहयोमा वीरगञ्जस्थित सिमानाकाबाट नेपाल प्रवेश गरिरहेको अवस्थामा, राजु तामाङ भन्ने राजु घलानलाई भदौ १४ गते र सबिन पन्तलाई भदौ १५ गते पक्राउ गरेको हो।

उनीहरूले नेपालीलाई भारत लगेर ६ लाख रुपैयाँमा मिर्गौला तस्करी गर्ने गरेको खुलेको छ। 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले यसमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको हो।

बिचौलियाहरूले नेपालका ५ वटा जिल्लामा उनीहरुले निशाना बनाउने गरेको खुलाएका छन्। भण्डारीले प्रहरीलाई बताएअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङ्गका गरिब नागरिकको खोजि गरेर मिर्गौला निकाल्न भारत लैजाने गरेका थिए। 

मिर्गौला दिने मानिस खोजेबापत बिचौलियाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ पाउने गरेका थिए। 

३–४ दिन अस्पताल राखेपछि गाडीमा नेपाल फर्काउने गरेका थिए। मिर्गौला दिने मान्छेलाई ६ लाख दिने भने पनि प्रहरीमा उजुरी गरेका एक जना पीडितले भने ५ हजार रुपैयाँ मात्रै पाएको बताएका छन्। 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रचलित कानुनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

संगठित अपराध निवारण ऐन, २०७० बमोजिम सम्बद्ध कसुरमा तोकिएको सजायमा डेढ बढी सजाय हुनसक्ने कानुनी व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad