नेपालीलाई बिचौलियाले भारत लगेर ६ लाख रुपैयाँमा मिर्गौला तस्करी गर्ने गरेको खुलेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले यसमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारी र सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका २ का २९ वर्षीय सुजन भारती रहेका छन्।
पीडितहरुले दिएको सूचना र पक्राउ परेकाहरुको बयानका आधारमा मुख्य नाइके भएका भण्डारीलाई पनि पक्राउ गर्न सफल भएको कुँवरले बताए।
भण्डारीलाई कञ्चनपुर प्रहरीको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा गड्डाचौकी सिमानाकाबाट र उनका सहयोगी सुजन भारतीलाई पर्सा प्रहरीको सहयोमा विरगञ्जस्थित सिमानाकाबाट पक्राउ गरेको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ।
भण्डारीले २५ जना नेपालीको मिर्गौला झिकेको स्वीकार गरेका छन्। तर प्रहरीले भने एकसय भन्दा धेरै ब्यक्तिहरुको मिर्गौला अवैध रुपमा बेचबिखनमा भण्डारीको संलग्न रहेको सूचना आफूसँग रहेको दाबी गरेको छ।
नेपालीका मिर्गौला तस्करीमा संलग्न मुख्य व्यक्ति भण्डारी भएको ब्युरोको दाबी छ। भारती भण्डारीका सहयोगी हुन्।
उनीहरु दुवै जना भारतको दिल्लीस्थित लाजपत नगरमा बस्दै आएका थिए।
नेपालका ५ वटा जिल्लामा उनीहरुले निशाना बनाउने गरेको खुलाएका छन्। भण्डारीले प्रहरीलाई बताएअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङ्गका गरिब नागरिकको खोजि गरेर मिर्गौला निकाल्न भारत लैजाने गरेका थिए।
उनीहरुले ६ लाख रुपैयाँ दिने शर्तमा भारत लगेर मिर्गौैला निकाल्ने गरेको खुलेको छ। यी जिल्लामा डुलेर बिचौलियाले मिर्गौला दिन तयार हुने सोझा सिधा तथा गरीब मानिसहरुको खोजी गर्न लगाउने गरेका थिए।
उनीहरुले मिर्गौला निकाल्नका लागि ‘एउटा किड्नी दिँदैमा मानिस मर्दैन र स्वास्थ्यमा कुनै असर गर्दैन’ भनेर ६ लाख रुपैयाँमा मिर्गौला किन्ने गरेको बताएका छन्।
यसरी संगठित रुपमा टिम परिचालन गरेरै प्रलोभनमा पार्ने गरेका थिए।
मिर्गौला दिने मानिस खोजेबापत बिचौलियाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ पाउने गरेका थिए।
मिर्गौला दिन तयार भइसकेपछि उनीहरुले नै गाडीको व्यवस्थापन गरी नेपालबाट भारतको राजधानी नयाँ दिल्लीसम्म लैजाने गरेका छन्।
मिर्गौला निकालेपछि बिचौलियाले नै नेपाल ल्याएर छाड्ने गरेको खुलेको छ।
मिर्गौला निकाल्नुपहिले दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा राख्ने र खाने बस्ने सम्पूर्ण व्यवस्थापन बिचौलियाले नै गरेको पाइएको छ।
भारतको नयाँ दिल्लीस्थित विभिन्न अस्पताल, क्लिनिकमा कार्यरत एजेन्ट, अस्पतालका कर्मचारी र डाक्टरहरुसँग समन्वयको मुख्य भूमिका भण्डारीले निर्वाह गर्ने गरेको थिए।
मिर्गौला दिने तयार भएका मानिसहरुलाई अलग–अलग स्थानमा राख्ने र होटलमा बसेकै स्थानमा अस्पतालका कर्मचारी आएर ब्लड स्याम्पल लिने व्यवस्था मिलाउँथे।
किड्नी दिन तयार हुने मानिसहरुलाई होटलबाट निकाली आँखामा पट्टी लगाई गाडीमा राखेर अज्ञातस्थलमा लगि इन्जेक्सन लगाएर बेहोस बनाउने र मिर्गौला झिक्ने गरेको प्रहरीको दाबी छ।
३–४ दिन अस्पताल राखेपछि गाडीमा नेपाल फर्काउने गरेका थिए। मिर्गौला दिने मान्छेलाई ६ लाख दिने भने पनि प्रहरीमा उजुरी गरेका एक जना पीडितले भने ५ हजार रुपैयाँ मात्रै पाएको बताएका छन्।
६ लाख दिने भने पनि भनेबमोजिमको रकम नदिएको पीडिहरुको दाबी छ। भारतमा बस्दै आएका भण्डारीले ३ वर्षपहिले नै भारतीय आधारकार्ड समेत लिएको खुलेको छ।
श्यामकृष्ण भण्डारीले सोधपुछको क्रममा भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र नाम थाह नभएका विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग समन्वय गरेर मिर्गौला झिकेको स्वीकार गरेका छन्।
सुजन भारतीले भारतको नयाँ दिल्लीमा श्याम भण्डारीसँग बसेर उनको सहयोगीको रुपमा काम गरेको र आफुले समेत किड्नी बेचेको बताएका छन्।
भारतीले मिर्गौला दिन जाने नेपालीहरुलाई नेपालबाट भारतमा लैजाने र त्यहाँ होटलमा बस्ने व्यवस्थापन गर्ने गरेको बताएका छन्।
होटलहरुमा रेखदेख र खानपिनको ब्यवस्थापन आफूले गर्ने गरेको प्रहरीलाई बताएका छन्।
नेपालमा मिर्गौला दिने मानिसहरुको खोजी गर्ने काम गर्दा उनले एक जनाबराबर ४० हजार रुपैयाँ पाउने गरेको बताएका छन्।
नेपालबाट मानव तस्करहरुले संगठितरुपमा भारतको नयाँ दिल्लीमा लगेर बिर्गौला निकालिरहेको सूचनापछि ब्युरोले अनुसन्धान सुरु गरेको थियो।
पीडितलाई आफ्नो कार्यालयमा झिकाएर २०८२ साउन १९ गतेबाट यस विषयमा अनुसन्धान सुरु गरेको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए। हालसम्म ब्युरोमा ४ वटा मुद्दा दर्ता भइसकेको र आरोपितविरुद्ध संगठित रुपमा कानुनविपरीत मानव अङ्ग मृगौला झिकी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।
हालसम्म ५ जना पीडितहरुले जाहेरी दिएका छन्।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले ‘अप्रेसन लाइफ शिल्ड’अन्तर्गत यसअघि प्रहरीले मिर्गौला झिक्ने कार्यमा संलग्न ३ जना पक्राउ गरेको थियो।
राकेश नेपाली, समीर नेपाली, कुमार भन्ने राज कुमार नेपालीलाई २०८२ साउन २० गते पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रचलित कानुनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।
संगठित अपराध निवारण ऐन, २०७० बमोजिम सम्बद्ध कसुरमा तोकिएको सजायमा डेढ बढी सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
Shares

प्रतिक्रिया