भारतमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
शुक्रबार एकै दिन भारतमा कोरोना संक्रमणबाट ५९ जनाले ज्यान गुमाएका छन्। यो कोरोना संक्रमणबाट एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो।
त्यहाँ शनिबार बिहानसम्म संक्रमितमध्ये ७ सय ८० जनाको मृत्यु भइसकेको वर्ल्डओमिटरले जनाएको छ। संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ।
भारतमा शुक्रबार एकै दिन १४ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म ५ हजार ४ सय ९६ जना उपचारपछि ठिक भएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।
कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया