समाज


आरडीटी भरपर्दो देखिएन, पीसीआर विधिकै प्रयोग गरौंः आयोग

आरडीटी भरपर्दो देखिएन, पीसीआर विधिकै प्रयोग गरौंः आयोग

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १३:८,

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना परीक्षण गर्दा आरडीटी विधि भरपर्दो नदेखिएको भन्दै पीसीआर विधिबाट मात्रै परीक्षण गर्न आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति निकालेर आयोगले अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको परीक्षणपछि मात्र वास्तविक संक्रमित भए नभएको यकीन हुने हुँदा पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीब्रता दिन आग्रह गरेको छ।

यस्तै, आयोगले संक्रमितहरुको संख्या बढ्दै गएको परिस्थितिमा संक्रमितहरुको परीक्षण कतिपय स्थानमा सुचारु रुपमा हुन नसकी न्यून संख्यामा भएकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।
लकडाउन पूर्ण रुपमा पालना नभएको तथा कतिपय स्थानमा मानिसहरु अलपत्र परिरहेको अनुगमनका क्रममा देखिएको आयोगले जनाएको छ।

‘कोभिड–१९ रोकथामको लागि सामाजिक दूरी नै प्रमुख आधार भए तापनि लकडाउनको पूर्ण रुपमा पालना नभएको आयोगको केन्द्र, प्रदेश र जिल्लास्तरका अनुगमन समितिको अनुगमनबाट देखिएको छ। काठमाडौँ उपत्यका र विभिन्न शहरहरुबाट मानिसहरु भिडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराइका कतिपय जिल्लामा भीडभाडयुक्त हाटबजारहरु यथावत सुचारु हुुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलहरुमा पनि मानिसहरुको भीड लागी एक आपसको दूरी कायम हुन नसकेको जस्ता स्थितिले संक्रमणको जोखिम थप बढ्न जाने देखिन्छ’ आयोगले भनेको छ।

साथै, लकडाउनको अवधिमा राहत वितरणमा देखिएका समस्याहरुको उचित व्यवस्थापन गर्न, अपाङ्ग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्बासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पु-याउन, लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टिनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सीमानामा आई लामो समयदेखि क्वारेन्टिनमा बसेका नागरिकहरुको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गरी मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि संघ, प्रदेश र स्थानीय सरकार बीच आवश्यक समन्वय हुन समेत आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .