विचार


अर्को महामारीसँग हामी यसरी लड्नेछौँ

अर्को महामारीसँग हामी यसरी लड्नेछौँ

विल गेट्स
बैशाख १२, २०७७ शुक्रबार १३:१४,

इतिहासकारहरुले कोभिड–१९ महामारीका विषयमा पक्कै पुस्तक लेख्नेछन्। तर, अहिलेसम्म हामीले जे भोग्यौँ, त्यसले त्यस्ता पुस्तकको सुरुवाती एक तिहाइ हिस्सा मात्रै ओगट्ने छ। बाँकी दुई तिहाइ हिस्सामा अझै हुन बाँकी घटनाहरुको विवरण हुनेछन्।

यो महिनाको अन्त्यसँगै युरोप, पूर्वी एसिया र उत्तर अमेरिकामा महामारीको उत्कर्ष सम्भवतः पार भइसक्नेछ। धेरैलाई आशा छ, अबको केही सातामा सबैथोक सामान्य हुनेछ। डिसेम्बरमा जस्तो अवस्था थियो, फेरि त्यस्तै हुनेछ। दुर्भाग्यवश, महामारी त्यति सजिलै समाप्त हुने छैन।

मलाई विश्वास छ, मानवजातिले यो महामारीलाई हराउनेछ। तर, धेरैजसो जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइसकेपछि मात्र त्यो सम्भव छ। त्यतिञ्जेल जीवन सामान्य बन्ने छैन।

सरकारहरुले लकडाउनको आदेश हटाएपनि, व्यवसाय पुनः सुरु गरे पनि यो रोगबाट बच्न मानिसहरुले स्वभाविक रुपमा होसियारी अपनाउने छन्। विमानस्थलहरुमा ठूलो भिड लाग्ने छैन। खेलकुद लगभग रित्तो रंगशालामा खेलाइनेछ। र, विश्वको अर्थतन्त्र मन्दीमा रहनेछ किनभने माग कम हुनेछ। मानिसहरु सोची विचारी मात्रै खर्च गर्नेछन्।

यो महामारी विकसित देशमा रोकिएपछि विकासशील मुलुकमा तीव्र गतिमा फैलिनेछ। र, ती मुलुक विकसित मुलुकको तुलनामा अझ नराम्ररी प्रभावित हुनेछन्। गरिब मुलुकमा घरबाटै गर्न सकिने काम कम छन्। दूरी कायम गर्ने उपायले पनि राम्ररी काम गर्न सक्दैन। त्यहाँ भाइरस झन् तीव्र गतिमा फैलिने छ। र, स्वास्थ्य सेवा प्रणालीले पनि संक्रमितको राम्ररी उपचार गर्न सक्ने छैन।

कोभिड–१९ ले न्युयोर्कजस्तो सहरलाई समेत अस्तव्यस्त बनायो। तर, धेरैजसो अफ्रिकी मुलुकमा भन्दा म्यानहटनको एउटै अस्पतालमा धेरै आईसीयू बेड छन् भने ती स्थानको अवस्था के होला? दशौँ लाख मानिस मर्न सक्छन्।

तिनलाई सम्पन्न मुलुकले सहयोग गर्न सक्छन्। उदाहरणका लागि अत्यावश्यक सामग्री धेरै पैसा हाल्नेले मात्र नपाउने व्यवस्था गर्न सकिन्छ। तर, धनी वा गरिब दुवै स्थानका मानिस तबमात्रै सुरक्षित हुने छन्, जब हामीसँग भाइरस निर्मूल पार्ने प्रभावकारी विधि हुनेछ। त्यो भनेको खोप नै हो।

आउँदो वर्ष चिकित्सासम्बन्धी अनुसन्धानकर्ताहरु विश्वकै सबैभन्दा महत्वपूर्ण व्यक्ति बन्ने छन्। भाग्यवश यो महामारीभन्दा अगाडि पनि उनीहरुले खोपको विकासमा धेरै ठूलो फट्को हानिसकेका थिए। परम्परागत खोपमा भाइरसको मृत तथा कमजोर रुपलाई शरीरमा पठाउने गरिन्छ। जसले शरीरलाई रोगकारक भाइरस वा ब्याक्टेरिया चिनाउँछ।

तर, अहिले नयाँ प्रकारको खोप विकास हुँदैछ। जसमा अनुसन्धाताहरुले रोगकारक भाइरस ठूलो मात्रामा विकास गर्नै पर्दैन। यसलाई एमआरएनए खोप भनिन्छ। यस्तो खोपमा त्यस्तो ‘जिनेटिक कोड’ हुन्छ, जसले हाम्रा कोसिकाहरुलाई रोगको प्रतिरक्षा गर्न निर्देशन दिन्छ। सम्भवतः पराम्परागतभन्दा यस्ता खोप चाँडो उत्पादन गर्न सकिन्छ।

मलाई के आशा छ भने सन् २०२१ को अन्त्यसम्ममा कोभिड–१९ विरुद्धको खोप विश्वका विभिन्न स्थानमा उत्पादन भइसक्नेछन्। यदि त्यसो भयो भने यो ऐतिहासिक उपलब्धि हुनेछ। किनभने हालसम्म मानवजातिले इतिहासमा यति चाँडो नयाँ रोग पहिचान गरेर त्यसको खोप विकास गर्न सकेको थिएन।

खोपसम्बन्धी यो प्रगतिका अलावा कोरोना महामारीबाट चिकित्सा क्षेत्रमा अन्य दुई ‘ब्रेकथ्रु’ पनि हुनेछन्।

एउटा सफलता रोग पहिचानको क्षेत्रमा प्राप्त हुनेछ। अर्कोचोटी कुनै नयाँ भाइरस फैलिँदा सम्भवतः मानिसहरुले घरमै बसीबसी त्यसको परीक्षण गर्न सक्नेछन्। जसरी आज गर्भ परीक्षण गरिन्छ, त्यसैगरी भाइरसको जाँच हुनेछ। तिनले किटमा पिसाबको सट्टा नाकबाट स्वाब झिकेर परीक्षण गर्न सक्नेछन्। नयाँ रोग पहिचान भएको केही महिनाभित्रै अनुसन्धानकर्मीहरुले यस्तो टेस्ट किट तयार गर्न सक्ने छन्।

तेस्रो प्रगति एन्टिभाइरल औषधिको क्षेत्रमा हुनेछ। यो अत्यन्त कम लगानी भएको विज्ञानको एउटा शाखा हो। ब्याक्टेरियाविरुद्धको लडाइँमा हामी जति प्रभावकारी थियौँ, भाइरसविरुद्ध त्यति हुन सकेका छैनौँ। अनुसन्धानकर्मीहरुले एन्टिभाइरल औषधिहरुको विशाल भण्डार विकास गर्नेछन्। जहाँबाट नयाँ रोगको औषधि उनीहरुले तत्काल फेला पार्न सक्नेछन्।

यी तीन वटै प्रविधिले हामीलाई अर्को महामारीका लागि तयार पार्नेछ। त्यसबेला संक्रमितहरुको संख्या अत्यन्त कम रहँदै हामीले हस्तक्षेप गर्न सक्नेछौँ र महामारीलाई रोक्न सफल हुनेछौँ।

त्यसमाथि यी अनुसन्धानहरुले हामीलाई विद्यमान संक्रामक रोगविरुद्ध लड्न पनि सघाउने छन्। क्यान्सरको उपचारमा पनि यी अनुसन्धान सहयोगी साबित हुनेछन्। एमआरएनए खोपले अन्ततः क्यान्सरविरुद्धको खोप विकास हुनेछ भन्नेमा वैज्ञानिकहरुले लामो समयदेखि विश्वास गर्दै आएका थिए। कोभिड–१९ को महामारी आइनपर्दासम्म त्यस्ता खोप सस्तो दाममा ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ भन्नेबारे कुनै अनुसन्धान भएको थिएन।

हाम्रो प्रगति विज्ञानको क्षेत्रमा मात्रै सिमित रहने छैन। हरेक मानिसले विज्ञानको उपलब्धिको फाइदा लिनसक्ने अवस्था सुनिश्चित गर्ने विषयमा पनि प्रगति हुनेछ।

सन् २०२१ पछिका वर्षहरुमा हामीले १९४५ का वर्षहरुबाट सिक्न आवश्यक हुनेछ। दोस्रो विश्वयुद्धको समाप्तिपछि थप द्वन्द्व सिर्जना हुन नदिन नेताहरुले संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्था गठन गरे। कोभिड–१९ महामारीपछि नेताहरुले अर्को महामारी रोक्न त्यस्तै संस्था बनाउनेछन्।

ती संस्था राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी संगठनहरुको मिश्रण हुनेछन्। मलाई आशा छ, अहिले मुलुकहरु जसरी युद्धअभ्यास गर्छन्, त्यसैगरी नियमित ‘किटाणु अभ्यास’मा पनि सहभागी हुनेछन्। यस्तो अभ्यासले हामीलाई अर्को पटक चमेरा वा चराबाट नयाँ भाइरस मानिसमा प्रवेश गर्दा उत्पन्न हुने अवस्थाका लागि तयार पार्ने छन्।

कसैले घरमै बनाएको ल्याबमा कुनै संक्रामक रोग सिर्जना गरेर त्यसलाई जैविक हतियारका रुपमा प्रयोग गरेपनि हामी तयार हुने छौँ। महामारीका लागि आवश्यक अभ्यास गरे जैविक आतंकवादबाट पनि संसारलाई बचाउन सकिन्छ।

मलाई आशा छ, सम्पन्न मुलुकहरुले यस्ता तयारीमा गरिब मुलुकहरुलाई सहभागी गराउने छन्। खासगरी वैदेशिक सहयोगलाई ती मुलुकको स्वास्थ्य सेवा प्रणाली विकासमा केन्द्रित गर्न सकिन्छ। अब त जस्तोसुकै लोभी व्यक्ति वा एकलकाँटे सरकार पनि यसमा सहमत हुनुपर्ने हो।

यो महामारीले हामीलाई देखाएको छ, भाइरसले सीमासम्बन्धी कानुन पालना गर्दैन। हामीले चाहे पनि नचाहे पनि किटाणुहरुको सञ्जालले हामी सबैलाई जोडेको छ। यदि कुनै गरिब मुलुकमा नयाँ भाइरस देखा प¥यो भने त्यहीँका डाक्टरले जतिसक्दो चाँडो भाइरस पत्ता लगाउन र नियन्त्रण गर्न सके सबैको भलो हुन्छ।

यी कुनै पनि विषय अवश्यंभावी होइनन्। इतिहास तोकिएको बाटो हिँड्दैन। कुन बाटो हिँड्ने, मानिसले रोज्ने हो। र, तिनले रोजेको बाटो गलत पनि हुनसक्छ। सन् २०२१ पछिका वर्षहरुले १९४५ पछिका वर्षहरुलाई प्रतिबिम्बित गर्नेछन्।

तर, सबैभन्दा उत्तम तुलना १० नोभेम्बर १९४२ सँग हुनसक्छ। दोस्रो विश्वयुद्धमा इजिप्टमा जर्मन सेनाविरुद्ध बेलायती सेनाले पहिलो पटक विजय हात पारेको थियो। तर, प्रधानमन्त्री विन्स्टन चर्चिलले सो दिनको भाषणमा भने, ‘यो अन्त्य होइन। यो त अन्त्यको सुरुवात पनि होइन। सायद यो सुरुवातको अन्त्य चाहिँ हो।’

(दि इकोनोमिस्टबाट। बिल गेट्स माइक्रोसफ्टका सहसंस्थापक हुन्। त्यसैगरी उनी बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष पनि हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .