पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गुप्ता नेकपा एमालेका नेता हुन् भने श्रेष्ठ नाउपाकी अध्यक्ष हुन्। उनीहरू दुवै जना हाल विघटित प्रतिनिधि सभा सदस्यसमेत हुन्।
अख्तियारले मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी/बिचौलिया सुजन लामा वा सुजन कुमार लामा भन्ने सुजन कुमार तामाङ, खेम पुन भन्ने खम बहादुर पुन, याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई प्रतिवादी बनाएको छ।
यस मुद्दामा पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ तथा बिचौलिया तामाङ, गुरुङ र बुढा मगरलाई ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ भने मालपोत अधिकृत अधिकारीलाई ५३ लाख र खेम पुनलाई २५ लाख बिगो तोकिएको छ।
गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ। अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ।
गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री थिइन्।
-
लिचीबारी प्रकरण: एमालेको भुईँदेखि शीर्ष तहसम्मै हलचल, छानबिन भए गर्जिन सक्छ पहरो
-
मन्त्री अधिकारीलाई संकट: उता ३२ लाख घुस बुझेको अडिओ, यता आफैँले पठाएका मालपोत हाकिम पक्राउ
यस्तो छ अख्तियारको आरोप पत्र
Shares

प्रतिक्रिया