घुस डिल सम्बन्धी एउटा प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। तर, त्यही प्रकरणमा ३२ लाख रूपैयाँ बिचौलियामार्फत बुझेको दाबीसहितको अडिओ सार्वजनिक हुँदा पनि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले न आफैँले राजीनामा दिएका छन्, न त प्रधानमन्त्रीले नै एक्सन लिएका छन्।
भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्नका लागि ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको दोस्रो अडिओ सार्वजनिक भएको छ। एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरूवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी अडिओमा सुन्न सकिन्छ।
बिचौलिया भनेर चिनिएका सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घुस रकम लिएको अडिओमा भनिएको छ।
उक्त घुस लेनदेनमा मन्त्री अधिकारीका छोरा मनोज अधिकारी, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको अडिओमा उल्लेख गरिएको छ।
लामाले अडिओमा तत्कालीन सचिव पोखरेलले पाँच लाख घुस बुझेको भनेका छन्। मन्त्रीद्वय गुप्ता र अधिकारीदेखि सचिव पोखरेलसमतले लिएको घुस, उनीहरूको पोखरा घुमघामको खर्च समेत गरेर डेढ करोड रूपैयाँ गइसकेको उनको दाबी छ।
मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको दाबी छ। उनले अडिओमा भनेका छन्, ‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर। उसले लगेर बुझायो। मैले ट्रस्ट मनोजलाई गर्ने हो। मनोज साथी हो, मनोजले पुष्टि गर्यो, हो भन्यो। रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ। उसलाई भित्र पठाएँ, म बाहिर थिएँ। ऊ मन्त्री क्वार्टरबाट खाली आयो। उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला।’
अडिओमा लामाले मन्त्री अधिकारीसँग भेटेको पनि दाबी गरेका छन्। ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो। तपाईं किन पहिल्यै नआएको? तपाईंको नाम मात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवारजस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थेँ भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई,’ अडिओमा लामाले भनेका छन्।
यसअघि सार्वजनिक अडिओमा भूमि व्यवस्थामन्त्री अधिकारीले अर्कैबाट पैसा खाइसकेकाले पुनलाई नियुक्त नगरेको भनेर गुप्ताले भनेका छन्। ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन,’ गुप्ताको अडिओमा छ।
मन्त्री अधिकारीले भने घूस लेनदेनमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका छन्। उनले सोमबार प्रतिनिधि सभा बैठकमा ‘जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्छ। म डराउनेवाला छैन।’
यता मन्त्री अधिकारीले नै भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा प्रमुख मालपोत अधिकृत बनाएर पठाएका कुमार आचार्य घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए। उनीसँगै नायब सुब्बा दीपक अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत पनि समातिएका छन्।
अधिकारीका ‘रोज्जा’ कर्मचारी नै घुससहित पक्राउ परेपछि एमालेभित्रैबाट पनि प्रश्न उठिरहेको छ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमै लेखेका छन्, ‘घुसकाण्डमा कर्मचारीका मन्त्री (गुप्ता) राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन्। यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन्। यो उनको मात्रै हिम्मत होला त? यस्तो काम चुपचाप कति भइरहेको होला- मालपोत र नापीमा?’
Shares

प्रतिक्रिया