समाज


बाहिरिन थाल्यो मनसुन, यी प्रदेशमा छैन प्रभाव

बाहिरिन थाल्यो मनसुन, यी प्रदेशमा छैन प्रभाव

नेपालखबर
असोज २०, २०८२ सोमबार १४:१३, काठमाडौँ

नेपालको पश्चिमी क्षेत्रबाट मनसुन (वर्षायाम ल्याउने मौसम प्रणाली) क्रमश: बाहिरिन सुरु गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असोज २०) दिउँसो जनाएअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो। 

यस वर्ष मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो। यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो। 

मनसुन देशभरिबाट एकैचाोटि बाहिरिँदैन। यो पश्चिमबाट क्रमश: हट्दै हट्दै अन्त्यमा पूर्व कोसी प्रदेश हुँदै पूरै नेपालबाट बाहिरिन्छ। त्यसपछि मात्र मौसम महाशाखाले देशबाट मनसुन बाहिरिएको घोषणा गर्छ। 

अहिले भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पूर्वी भेग तथा मधेस र कोसी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायमै छ। 

गत वर्ष भने मनसुन अक्टोबर १२ तारिखका दिन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको थियो। 

मनसुन बाहिरिएपछि मुलुकमा पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद् बताउँछन्। मनसुनी वायुचाहिँ पूर्वी वायु हो। जुन हरेक वर्ष नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरी देशभर फैलिने गर्छ। 

मनसुन पूरै नेपालबाट बाहिरिएपछि पोस्ट-मनसुन सुरु हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए। 

‘पोस्ट-मनसुन भनेको सामान्य भाषामा मौसम हिउँदतर्फ ढल्किनु हो’, उनले भने, ‘पोस्ट-मनसुन २ महिना अर्थात् अक्टोबर र नोभेम्बरसम्म रहन्छ, त्यसपछि विन्टर सुरु हुन्छ।’

उनका अनुसार मनसुन हट्न थालेपछि मौसम बिस्तारै चिसो हुँदै जान्छ। 

मौसमविद्का अनुसार नेपालमा मौसमलाई चार भागमा वर्गीकरण गरिएको छ- प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।

यी सिजनमध्ये सबैभन्दा लामो भर्खरै बिदा हुन लागेको मनसुन चार महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। सबैभन्दा छोटो समयचाहिँ अब सुरु हुने पोस्ट मनसुन जम्मा २ महिना अक्टोबर र नोभेम्बरसम्म रहन्छ।  

अनि ‘विन्टर’ ३ महिना- डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ भने प्रि-मनसुन पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। प्रि-मनसुन सकिएपछि फेरि मनसुन सुरु हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad