विपद्मा कोसी प्रदेश सरकारले १४ वटै जिल्लामा समन्वयहरू गरिरहेको जनाएको छ। जेनजीको आन्दोलन पछि थलिएको प्रदेश सरकार विपद्मा समन्वयमा सक्रिय देखिएको हो।
कोसी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले विपद् व्यवस्थापनका सबै जिल्लाहरूसँग समन्वय गरेर आवश्यक सबै सहयोगहरू गरिरहेको बताए।
उनका अनुसार, खाद्यान्न, त आवश्यक पर्ने उपकरणहरू, टेन्ट वा आवश्यक रकमका लगायत मागको आधारमा सबै तयारी रहेको छ।
‘सम्बन्धित जिल्ला प्रशासन र विपद् व्यवस्थापन समितिसँग लगातार सम्पर्कमा रहेको प्रदेश सरकारले आपत्कालीन अवस्था आएको खण्डमा चारदेखि छ घण्टाभित्र आवश्यक सामग्री जिल्ला पठाउन सक्षम छ,’ उनले भने, ‘हामी पूर्व तयारीमा छौँ। कुनै पनि घटना भएमा तत्काल रिपोर्ट प्राप्त भएसँगै राहत उपलब्ध गराउने व्यवस्था छ।’
अहिले इलाममा धेरै धनजनको क्षति भएको भन्ने जानकारी आएकोले त्यहाँ प्रमुख जिल्ला अधिकारीहरू सहित त्यहाँको सुरक्षा निकाय र स्थानीय तहहरूसँग समन्वयको काम भइरहेको उनले जानकारी दिए।
तराईका जिल्लामा धेरै डुबान भएको र खोला गाउँ पसेकोले उद्धार सामाग्रीहरू पठाउने काममा सरकारले सहजीकरण गरेको मन्त्री भण्डारी बताउँछन्।
सरकारको कार्य प्रणाली र अधिकार क्षेत्रको बारेमा पनि स्पष्ट पार्दै उनले भने, ‘आवश्यक निर्णय र कार्यान्वयन प्रदेश अधिकार क्षेत्र भित्र रहेर गर्नु पर्ने कामहरू तत्काल गरिनेछ।’
Shares

प्रतिक्रिया