गत साउनमा धादिङमा कुकुरको टोकाइबाट सर्ने रेबिज भाइरसबाट ३ जनाको मृत्यु भयो। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा ६ स्थित चेपाङ बस्तीमा १ महिनाको अन्तरालमा ३ जनाको मृत्यु भएको थियो। सो खबरले गाउँमात्र शोकमा डुबेन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नै झस्कायो।
मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी सो घटनाबारे बुझ्न गाउँपालिका पुगे। मन्त्रालयका पदाधिकारी सहित विश्व स्वास्थ्य संगठनका पदाधिकारी पनि सो टिममा थिए। अनुगमनमा धेरै व्यक्तिलाई कुकुरले टोकेको आशंका गरियो। गाउँपालिकाका २८७ जनालाई रेबिजविरुद्धको खोप लगाइयो।
महाशाखाका प्रमुख डा चन्द्रभाल झाले गाउँ नै जोखिममा रहेको महसुस गरेर सबैलाई रेबिजको खोप लगाएको बताए।
‘१ महिनाको अन्तरमा तीन जनाको मृत्यु भएपछि त्यसबाट अन्य व्यक्तिमा पनि रेबिज देखिन सक्छ कि भन्ने डर बढ्यो। त्यसकारण समुदायका सबै व्यक्तिमा खोप अभियान सञ्चालन गरेका छौँ,’ उनले भने ‘समयमा पूरै गाउँमा नै खोप लगाउन सफल भएका कारण अन्य व्यक्तिमा रेबिज देखिन पाएन।’
कुकुर खोजेर खोप अभियान
एक वर्षअघि काभ्रेको महाभारत गाउँपालिका र मण्डनदेउपुर गाउँपालिकामा कुकुरको टोकाइबाट रेबिज फैलिएको थियो। दुवै गाउँपालिकामा रेबिजका कारण मृत्युदर बढ्दै गएपछि सरकारले दुई गाउँपालिकामा छाडा छोडिएका सबै कुकुरलाई खोप लगाएको थियो।
कुकुरको टोकाइबाट मृत्युदर बढेपछि इपिडिमियोलोजी र पशु स्वास्थ्य विभागका पदाधिकारी गाउँपालिका पुगेका थिए। मण्डनदेउपुर गाउँपालिकामा ६३६ वटा कुकुर खोजेर खोप लगाइएको थियो। यस्तै, महाभारत गाउँपालिकामा १ हजार ४०० कुकुरलाई खोप लगाइएको थियो।
सरकारले सन् २०३० सम्म रेबिजबाट मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएको छ। तर, कुकुरमा पर्याप्त खोप अभियान सञ्चालन नहुँदा रेबिजबाट हुने मृत्युदर कम हुन सकेको छैन। जसकारण सरकारी लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्छन् विज्ञहरू।
स्वास्थ्य सेवा विभागका सिनियर मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तराज ओझा समुदायमा छोडिएका कुकुरहरू व्यवस्थापन नगरी र कुकुरलाई पूर्णरुपमा खोप लगाउन नसकिए रेबिज नियन्त्रण गर्न नसकिने बताउँछन्।
‘हामीले विभिन्न जनावरको टोकाइबाट आउने व्यक्तिहरूलाई मात्र खोप लगाएका छौं। वार्षिक करिब २ लाख व्यक्तिले खोप लगाउँछौं। यसले जनावर र मानिसबीच द्वन्द्व घटेको छैन, मानिस अझै जोखिममा छन्,’ उनले बताए।

डा ओझा रेबिज भाइरस सार्ने जनावरलाई खोप नलगाए रोकथाम गर्न नसकिने बताउँछन्।
‘रेबिज नियन्त्रण गर्न कुकुरमा जति सक्दो धेरै खोप अभियान सञ्चालन गर्नुपर्छ। हामीले कुकुरले टोकेपछि मात्र खोप अभियान सञ्चालन गर्छौं। जसले गर्दा रेबिजबाट हुने मृत्युदर कम गराउन गाह्रो छ,’ उनले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि खोप अभियानलाई विस्तार गरे मात्र रेबिज नियन्त्रण हुने बताउँछन्।
रेबिज प्राण घातक रोग भएकाले खोप मात्र यसको एक विकल्प रहेको र यो कुकुरको टोकाइबाट बढी सरेको हुँदा मानिससँगै कुकुरलाई पनि खोप लगाउनुपर्ने पुनको मत छ।
२५ वर्ष देखि रेबिजका बिरामी हेरिरहेका डा पुन वार्षिक १०० भन्दा बढी व्यक्तिको रेबिजको कारण मृत्यु हुने भन्दै खोप अभियानलाई बढाउन र रेबिजबारे जनचेतना बढाउन नसके रेबिज निवारण गर्न नसकिने बताउँछन्।
वार्षिक २ लाख खोप लगाउँदै सरकार
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चन्द्रभाल झाले सन् २०३० सम्ममा रेबिजलाई शून्यमा झार्न तयारी भइरहेको बताए। नेपाल सरकारले निस्शुल्क खोप अभियान सञ्चालन गरिरहेको भन्दै उनले वर्षेनी २ लाख व्यक्तिलाई खोप लगाउने गरिएको जानकारी दिए।
‘सरकारले गत आर्थिक वर्ष ३ लाख ७७ हजार ७७० भाइल खोप खरिद गरेको थियो। जसमध्ये १ लाख ८६ हजार ७५२ जनाले रेबिज विरुद्धको खोप लगाएका थिए। सातै प्रदेशमा खोप पठाएका छौँ। कुनै गाउँमा रेबिजको प्रकोप देखिएको छ भने गाउँभरिका व्यक्तिमा खोप लगाउने गरेका छौं,’ उनले भने।
देशभर वार्षिक रेबिजबाट १०० हाराहारीमा मृत्यु हुने गरेको भन्दै उनले सरकारी तथ्यांकमा भने निकै कम मात्र दर्ता हुने गरेको जानकारी दिए। केही व्यक्ति रेबिज लागेपछि अस्पताल नै नजाने र अस्पताल गएका बिरामीको तथ्यांक राष्ट्रिय तथ्यांकमा दर्ता नगर्ने ठूलो समस्या रहेको उनी बताउँछन्।
सरकारले सन् १९७० देखि कुकुरलाई लगाउने ‘एन्टिरेबिज’ खोप उत्पादन गर्दै आएको छ। कुकुरको टोकाइबाट रेबिज रोगको जोखिम बढ्दै गएपछि सरकारले खोप उत्पादन सुरु गरेको थियो।
राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले वार्षिक १ लाख ८० हजार डोज ‘एन्टिरेबिज’ खोप उत्पादन गर्दै आएको छ।
‘नेपालमा १० जना मान्छे बराबर एउटा कुकुर रहेको आकलन गरिन्छ। कुकुरको संख्याको आधारमा निकै कम खोप उत्पादन हुने गरेको छ,’ पशु स्वास्थ्य चिकित्सक डा मुकुल उपाध्याय भन्छन्, ‘कुकुरलाई खोप लगाउन सकिए मात्र रेबिज नियन्त्रण गर्न सकिन्छ। खोपले कुकुरको शरीरमा रेबिज भाइरस विरुद्धको एन्टीबडी निर्माण गर्छ, मानिसमा रेबिज सर्न पाउँदैन।’
प्रयोगशालाका वरिष्ठ पशु स्वास्थ्य चिकित्सक डा मनिषमान श्रेष्ठ उत्पादन भएको खोप निशुल्क लगाउने र बिक्री समेत गर्ने गरेको बताउँछन्।
‘८० हजार डोज खोप सडकमा छाडिएका कुकुरलाई लगाउने गरेका छौँ, १ लाख खोप बिक्री गर्ने गरिएको छ,’ उनले भने।

खोप लगाउन टेकु पुग्छन् दिनको दुई सय व्यक्ति
काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दिनको २ सयभन्दा बढी व्यक्ति खोप लगाउन आउने गरेको छ। अस्पतालका मेडिकल रेर्कडर समीर अधिकारीका अनुसार विभिन्न जनावरको टोकेर अस्पतालमा २ सय भन्दा बढी व्यक्तिलाई खोप लगाउने गरिएको छ।
टेकु अस्पतालमा यस आर्थिक वर्षमा जनावरको टोकाइबाट आएका ८० हजार ३७० जनालाई अस्पतालले रेबिजको खोप लगाएको थियो। अस्पताल आएका मध्ये १५ जनाको रेबिजबाट मृत्यु भएको छ।
‘कुकुरले टोकेपछि खोप लगाउन बेवास्ता गरेका र खोप लगाउनु पर्छ भन्ने जानकारी नभएका कारण रेबिज देखिएको पाएका छौँ,’ उनले भने, ‘मृत्यु हुनेमा १५ वर्षमुनिका बालबालिका छन्।’
‘टेकु अस्पतालमा रेबिजका कारण गत वर्ष १६ जनाको मृत्यु भएको थियो। गत वर्ष ६३ हजार ८१५ जनाले रेबिजको खोप लगाएका थिए। कुकुर, बिरालो, स्यालको टोकाइबाट खोप लगाउन आउने गरेका छन्। खोप लगाउनेमा सबैभन्दा धेरै कुकुरले टोकेर खोप लगाउन आउने गरेका छन्,’ मेडिकल रेकर्डर अधिकारीले भने, ‘कुकुरले टोकेर खोप लगाउन ८० प्रतिशत व्यक्ति आउने गरेका छन्।’
सन् २००० देखि नै टेकुलाई सरकारले रेबिजको खोप लगाउने र उपचार गराउने अस्पताल तोकेको थियो। सन् २०२० देखि भने कुकुर लगायत जंगली जनावरको टोकाइबाट तत्काल खोप लगाउन आउनेको संख्या बढेको छ।
डा पुन रेबिज विरुद्धको खोप सहज हुँदा पनि मृत्युदर उल्लेख्य रुपमा घट्न नसक्नु अचम्मको कुरा भएको बताउँछन्।
‘अहिले खोप सबैतिर पाइन्छ। खोप लगाउने पनि बढी छन्। तर पनि मृत्युदर शून्यमा झार्न ठूलो चुनौती छ, मानिसमा मात्र खोप लगायौँ तर खुला रुपमा छोडिएका कुकुरको खोजी गरेर खोप लगाउन सकिएको छैन,’ उनी भन्छन्।
रेबिज कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालो जस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्ने गर्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वमा वर्षेनि ५ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ। जसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्।
२०३० सम्म लक्ष्य पूरा गर्न निर्देशिका बनाइँदै
सरकारले सन् २०३० सम्म रेबिज नियन्त्रण गर्न रणनीति पास गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालय र कृषि तथा पशुपंछी विकास मन्त्रालय मिलेर बनाएको रणनीतिले सन् २०३० सम्म नेपालबाट रेबिज हटाउने लक्ष्य लिएको हो। जसका लागि जनावरमा खोप लगाउने, रेबिजबारे जनचेतना फैलाउने र खोपको दायरा वृद्धि गर्ने लक्ष्य राखेको छ। डा झाले रणनीति पास हुने तयारीमा रहेको बताए।
‘रेबिज नियन्त्रण गर्न पहिलो पटक रणनीति बनाएका छौं। मन्त्रिपरिषद्बाट पास गर्ने तयारी हुँदैछ। रणनीति आइसकेपछि थप कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ,’ उनले भने।

रेबिज रोग कसरी लाग्छ?
सरुवारोग विशेषज्ञ डा पुनका अनुसार रेबिज रोग एक घातक भाइरल रोग हो।
रेबिज मुख्यतया संक्रमित जनावरको टोकाइ, चिथोरेको घाउबाट मानिसमा यो रोग सर्छ। संक्रमित जनावरले टोक्दा वा चोट लागेको ठाउँमा याल पर्यो भने भाइरस शरीरमा प्रवेश गर्छ।
रेबिज भाइरस मानव शरीरमा प्रवेश गरेसँगै मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असर गर्छ। यो भाइरसले स्नायु तन्तु मार्फत मस्तिष्कमा पुगेर स्नायुहरूको कार्यक्षमता असर गर्छ।
रेबिजविरुद्धको खोपले शरीरलाई भाइरसको संक्रमणबाट बचाउन प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ। यसले भाइरसले शरीरमा असर गर्नुअघि नै त्यसलाई नष्ट गर्ने क्षमता विकास गर्छ।
रेबिज मानव इतिहासमा चिनिएको सबैभन्दा पुरानो रोगहरूमध्ये एक हो। विश्वभर सेप्टेम्बर २८ का दिन रेबिज रोगबारे जनचेतना फैलाउन विश्व रेबिज रोग दिवस मनाइँदै आएको छ।
Shares

प्रतिक्रिया