जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले बुधबारबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिर्वाय क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो।
विश्वभर कोरोना भाइरस सङ्क्रमण बढीरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
उनले भने, 'कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाई सुरक्षित राख्नका लागि आजदेखि लागू हुनेगरी जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ। निर्णयको पूर्णरुपमा पालना गरिने छ।' जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धित स्थनीयतहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्यरुपमा २१ दिन क्वारेन्टिनमा राख्ने र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाँचपश्चात रिर्पोटको आधारमा मात्र घर फर्काउन जिल्लास्थित सम्बन्धीत सबै स्थानीयतहलाई जानकारी गराईसकेको प्रजिअ पौडेलले जानकारी दिए ।
जिल्लाका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइमा भारतलगायत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखिएको थियो।
समयावधि पुगेका र आरडीटी जाँचपश्चात सबैको रिर्पोट नेगेटिभ आएपछि सबैलाई घर पठाईएको हो। पछिल्लो समय जिल्लाको बडीकेदार गाउँपालिकाले ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बिपिनगरमा स्थापना गरेको क्वारेन्टिनमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई राखिएको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टिन हाल खाली छन्। रासस

प्रतिक्रिया