भारतले नेपाललाई सहयोगस्वरुप १८ थरीका २३ टन औषधि उपलब्ध गराएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय क्वात्राले ती सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।
विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने औषधि भारतले सहयोग गरेको मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठले बताए।
‘भारतले १८ थरीका २३ टन औषधि दिएको छ। त्यसमा एन्टिबायोटिकदेखि अन्य औषधिहरु छन्,’ उनले भने।

स्वास्थ्यमन्त्री ढकालले आवश्यक परेको बेलामा मित्रराष्ट्र भारत सरकारले औषधि दिएकोमा धन्यवाद दिए।
नेपालमा वर्षा सुरु हुन लागेकोले त्यो अगावै थप औषधि आए वर्षाको बेला महामारीसँग लड्न केही सहज हुने बताए।
‘भारत आफैँ कोरोनाको संक्रमणसँग जुधिरहेको बेला नेपाललाई औषधि दिएर सहयोग गरेकोमा धन्यवाद,’ उनले भने, ‘वर्षा लाग्दैछ, त्यस्तो बेलामा महामारी फैलन सक्छ, त्यसअघि नै दोस्रो लटको औषधि पाए हामीलाई सजिलो हुन्थ्यो।’
राजदूत क्वात्राले भारत सरकारले दिने दोस्रो लटको औषधि केही समयपछि आउने बताए। त्यसका लागि तयारी भइरहेको उनले बताए।
नेपालले कोरोनाको संक्रमण रोकेकोमा उनले प्रशंसा गरे।
‘क्वत्राले भने, कोरोना नियन्त्रण गरेर नेपालले दक्षिण एसियामा उदाहरण प्रस्तुत गरेको छ,’ उनले भने।

प्रतिक्रिया