समाज


३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन

३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन

नेपालखबर
असोज ९, २०८२ बिहिबार ८:८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको  भन्दै खुसी व्यक्त गरेका छन्। 

आज सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी दिएका हुन्। ६ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न हुने पार्कका केही तस्बिरसमेत उनले सार्वजनिक गरेका छन्।

आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्। 

‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो। काठमाडौँ महानगरपालिकाको वडानम्बर १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौँ। त्यसपछि २ नम्बर वडामा कोसिस गर्‍यौँ। नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।’

अहिले काठमाडौँ–५ का वडाध्यक्ष बिरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण भएको र सोही जग्गामा पार्क निर्माणको काम अघि बढेको मेयर बालेनको भनाई छ।

 

अहिले यो पार्कको निर्माण कार्य करिब आधा सकिएको भन्दै उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएको बताएका छन्। ‘यो पार्क युवाहरूले संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने छ,’ उनले भनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad