न्युरोडका गल्लीगल्ली घुमिरहन्छन् उनी। बांगेमुढाका अग्ला भवनका प्रत्येक सिँढीमा पसिना चुहिएका छन् उनका।
३० वर्षभन्दा धेरै भइसक्यो, तिनै गल्ली, चोक र भवनमा उनी भौँतारिन थालेकोे।
करोडौंका व्यापार गर्ने साहुहरुसँग ठोकिन्छन् उनी। यी गल्लीमा उनले देख्दादेख्दै कति भवन ठडिए, कतिले करोडौँ कमाए तर भीमसेन राउत कहिल्यै फेरिएनन्।
कहिले कसको भारी बोके, कहिले कसको। उनले भारी नबोकेको पसल र घर सायदै कुनै होला। तर, आज विपत्तिमा त्यही ठाउँ उनका लागि बिरानो बनेको छ। एक छाक खान नपाउँदा ती अग्ला भवनमा बस्ने कसैले सोधेनन्।
कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि तीन दशकदेखिको उनको काम ठप्प छ। भारी बोक्न नपाएपछि खल्तीमा पैसा छैन। आजभोलि भोक मेट्नसमेत उनलाई धौधौ परिरहेको छ।
कालो ज्याकेट, न्यानो टोपी लगाएका भीमसेनले काँधमा नाम्लो बोकेका थिए। झस्स दारी पालेका उनले दुई कानमा मास्क अड्काएर चिउँडोमुनि पुर्याएका थिए।
आइतबार बिहानको छाक उनले स्वयम्भू, भगवानपाउस्थित भुँइखेल चउरमा पुगेर खाए।
‘यी काम छैन। पैसा पनि छैन। एक छाक खान यहाँ आएको,’ खाना खाएर बाहिर निस्किएका भीमसेनले नाम्लो देखाउँदै भने।
भुइँखेल चउरमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ र भुइँखेल टोल सुधार समितिको पहलमा उनी जस्ता ५ सयभन्दा धेरै मजदुरलाई दैनिक खाना खुवाइरहेका छन्। भीमसेन पनि केही दिनदेखि बिहान ११ बजेतिर यहीँ आइपुग्छन्।
दोलखा कालिन्चोक घर भएका भीमसेन सानैमा कामको खोजीमा सिक्किम, दार्जिलिङ गए। केही वर्षपछि उनी काठमाडौँ आएर भारी बोक्न थाले।
‘घरमा बुबाआमा पाल्नु पर्छ भन्ने भयो। अनि म घर आएँ,’ भीमसेनले पुरानो कथा सुनाए, ‘त्यसपछि म काडमाडौंतिर आएँ।’
काठमाडौं आएदेखि उनको काँधमा नाम्लो छुटेको छैन। पछिल्लो दुई वर्षदेखि डल्लुस्थित एक साहुको घरमा बस्दै आएका छन् उनी। बेलुकाको खाना साहुले दिन्छन्।
न्युरोडका गल्लीगल्लीमा उनी दैनिक भारी बोक्छन्, तर कमाइ कति हुन्छ उनलाई नै थाहा हुँदैन।
‘कहिले सुको पनि हुँदैन,’ उनले भने, ‘भारी नभएको दिन खान पाइँदैन। कहिले खुसी भएर ५ सय पनि दिन्छन्।’
न्युरोडमा उनी जस्तै थुप्रै छन् भारी बोक्नेहरु। तन्नेरीहरु पनि आएका छन्। जसले गर्दा ५९ वर्ष पुगेका भीमसेनलाई भारी पाउनै मुस्किल हुन थालेको छ। मोबाइल हुनेलाई फोन गरेर पनि धेरै ठाउँ बोलाउँछन्।
‘मसँग मोबाइल पनि छैन,’ उनले भने, ‘अगाडि जे पायो त्यही बोक्ने हो।’
घरमा उनकी पत्नी छिन्। बिहे भएकी एक छोरी भारत थिइन्। उतैबाट विदेश गइन्। कहाँ हो, उनलाई थाहा छैन।
काम नभएपछि खल्तीमा पैसा छैन। एक छाक खानको लागि धेरै ठाउँ कति भौतारिनु, बरु घरै जान पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ।
घर जान नहिँडेका पनि होइनन्। तर, प्रहरीले रोकेको उनले बताए।
‘घर जान पाए त तीनचार दिनमा पुगिन्थ्यो होला,’ भीमसेनले भने, ‘के गर्नु सरकारले रोक्छ।’
राजधानी सहरमा यस्तो पीडा भोग्ने भीमसेन एक्ला मजदूर होइनन्। उनीजस्ता अनगिन्ती मानिसले एक छाक खानकै लागि भौँतारिनु परिरहेको छ। स्वयम्भू, भगवानपाउस्थित भुँइखेल चउरमा भेटिएका यस्ता केही व्यक्तिहरुको दुःख यहाँ समेट्ने प्रयास गरेका छौँः
भूकम्पमा पनि यति दुःख भएको थिएन : मानबहादुर शाही, ४१, कालिकोट
मानबहादुर शाही काठमाडौंका गल्लीगल्लीमा घुम्दै गँलैचा बेच्ने गर्छन्। उनले यो काम गरेको २० वर्ष भइसकेको छ। दुई दशकको अवधिमा एक छाक खानका लागि उनले कुनै गेट कुर्नु परेको थिएन।
लकडाउन सुरु भएदेखि व्यापार भएको छैन। एकदुई दिन होइन, महिना दिनसम्म घरबाट बाहिर निस्किन नपाएपछि कसरी पुगोस्।
‘पैसा सकिँदै गयो,’ मानबहादुरले भने, ‘भूकम्पमा बरु यत्तिको गाह्रो भएको थिएन।’
त्यो बेला बाहिर घुम्न पाइने, अरु काम गर्न पनि सकिने अवस्था रहेको उनी बताउँछन्।
लकडाउनमा उनलाई रोगभन्दा बढी भोकसँग डर लागेको छ।
‘बिमार भनेको सबैलाई लाग्ने हो,’ उनी भन्छन्, ‘अहिलेको समस्या भनेकै खान नपाउने हो।’
साहुबाट गलैँचा ल्याउने, बेच्ने, त्यसबाट केही बचाउन सके आफूलाई। जति कमायो, त्यही खायो।
खान मात्र होइन अब त घरमा बस्न समेत समस्या हुन थालिसकेको छ। कोठाभाडा २ हजार ५ सय तिर्नु पर्छ। घरबेटीले घरबाटै निकाल्लान् कि भन्ने डर उनीलाई छ।
सकेसम्म बन्द खुलोस् र फेरि व्यापार गर्न पाइयोस् भन्ने चाहना छ उनको।
‘बन्द नखुलाउने हो भने नेपाल सरकारले खान दिए हुन्थ्यो,’ उनले भने।
माला बुन्न पाइएन : साइँला लामा, ५४, चरिकोट दोलखा
साइँला लामाले स्वयम्भू क्षेत्रमा माला बनाउने काम गर्न लागेको १५ वर्ष भइसक्यो। उनले मालाका लागि चाहिने गेडी काट्नेदेखि उन्ने, बुन्ने, खोप्नेसम्म गर्छन्।
उनीसँगै अन्य केही साथीहरु पनि छन्। ती माला उनी स्वयम्भू घुम्न आएका पर्यटकलाई बेच्छन्। त्यसबाहेक बौद्ध, ठमेल, न्युरोडतिर पनि ती माला बेच्न लैजान्छन्।
बिजेश्वरी बस्ने लामालाई लकडाउनले नराम्रोसँग थिचेको छ।
‘अहिलेको समस्या भनेको व्यापार नहुनु हो,’ उनले भने, ‘आम्दानी नहुँदा खाना खाने, कोठा भाडा तिर्न समेत गाह्रो भएको छ।’
भएको अलिकति पैसा पनि सकिँदै गएको छ।
‘खुल्यो भने व्यापार गर्न पाइन्थ्यो,’ लामाले भने, ‘लकडान भइरह्यो भने सरकारले केही गरिदेला नि!’
यति लामो बन्द होला भन्ने सोचेको थिइनँ : ललित चौधरी, कैलाली
कैलालीका ललित चौधरीले काठमाडौंमा काम गर्न थालेको १ वर्षमात्र भएको छ। काठमाडौं आएदेखि नै उनी कपडा सिलाउने काम गरिरहेका छन्।
उनी एक गार्मेन्टमा काम गर्थे। अचानक बन्द भयो। त्यसपछि मात्रै उनले लकडाउनबारे थाहा पाए। खुल्न पनि धेरै समय लाग्छ भन्ने उनले सुनेका छन्।
‘गार्मेन्ट बन्द भयो। काम नभएर पैसा छैन,’ चौधरीले भने, ‘घर जान पाए हुन्थ्यो। बन्द हुन्छ भन्थे तर यसरी लामो समय बन्द होला भन्ने लागेको थिएन।’
उनलाई काठमाठौँमा थुनिएजस्तो लागिरहेको छ।
‘घर जान्छु भन्दा पनि नपाइने,’ उनी भन्छन्।
दिनको एक छाक खान्छु, मुस्ताङ गुम्बामा सुत्छु : रामहरि ओझा, ३८, नुवाकोट
नुवाकोटका रामहरि ओझा कवाडको काम गर्छन्। काठमाडौंमा कवाडको काम गर्न लागेको तीन वर्ष भयो। तीन वर्षमा यो एक महिनाजति दुःख उनले कहिल्यै पाएका थिएनन्।
काम ठप्प छ। दुई पैसा आम्दानी छैन। पैसा नभएकाले खाना खान गाह्रो छ। एक छाक खान उनी यही भुँइखेल चउरमा आउँछन्।
‘एक पटक यही खाएर जाने हो। बेलुकालाई खाना छैन,’ उनले भने, ‘भोलि एकै पटक यही आउने हो।’
उनीसँग अरु १० साथीहरु बस्छन्। धादिङ, नुवाकोट, चन्द्रनिगापुरका ती साथीहरु पनि कवाडकै काम गर्छन्।
कोठा छैन। मुस्ताङ गुम्बा अगाडि सुत्छन् उनीहरु।
घरबेटीले अहिले नै जा भन्छन् : विष्णुबहादुर श्रेष्ठ, ६३, काभ्रे
ठेलागाडामा सोडा बेच्ने व्यवसाय गर्ने विष्णुबहादुर श्रेष्ठले सरकारले दिएको राहत लिएका छन्। पाँच किलो चामल, दाल, तेल, तरकारी, नुन त उनीहरुले पाएका छन् तर त्यो पकाउने साधन छैन।
‘ग्यास सिद्धिएको धेरै दिन भइसक्यो,’ उनले भने, ‘ग्यास किन्ने पैसा छैन। त्यो चामल कसरी पकाउनु।’
त्यो सामान कोठामै छ। ललितपुर, लगनखेलतिर सोडा बेच्ने उनी स्वयम्भुमा बस्ने बताए।
बच्चादेखि नै काठमाडौं बस्दै आएका विष्णुबहादुरको परिवारमा केही छैन। एक्लो ज्यान पाल्नलाई पनि उनलाई धौधौ भएको छ।
‘खाना बाँडेको छ भन्ने थाहा पाएर यहाँ आएको हुँ,’ भुइँखेल चउरमा भेटिएका विष्णुबहादुरले भने, ‘बिहान यहाँ आएर जान्छु। बेलुका यसो चिउरासिउरा खाएर टार्नुपर्छ।’
सरकारले चार पाँच हजार दिए यो बन्द टथ्र्यो कि भन्ने उनलाई लागेको छ। उनलाई पनि घर भाडा तिर्ने समस्या छ।
‘भाडा तिर्न सकेको छैन,’ उनले भने, ‘घरबेटीले अहिले नै जा भन्छन्।’
प्रतिक्रिया