समाज


संक्रमण समुदायस्तरमा पुगेको संकेत, विश्व स्वास्थ्य संगठनको टोली उदयपुर जाँदै

संक्रमण समुदायस्तरमा पुगेको संकेत, विश्व स्वास्थ्य संगठनको टोली उदयपुर जाँदै

मणि दाहाल
बैशाख ९, २०७७ मंगलबार १६:०,

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा मंगलबार थप ११ जना कोरोना संक्रमित फेला परे।

काठमाडौं र धरानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

योसँगै देशभर संक्रमितको संख्या ४२ पुगेको छ। जसमध्ये २४ जना उदयपुरकै छन्।

मंगलबार कोरोना संक्रमित भनेर पुष्टि गरिएका ११ जना भुल्केस्थित मस्जिदसँग सम्बन्धित छन्।

विदेशबाट आएका व्यक्तिमा मात्र भाइरस देखिँदा त्यसलाई संक्रमणको पहिलो चरण मानिएको थियो। दुबईबाट नेपाल आएका धनगढीका युवाको परिवारमा संक्रमण देखिएसँगै स्थानीय संक्रमण अर्थात् संक्रमणको दोस्रो चरण सुरु भएको थियो।

उदयपुरमा यति ठूलो संख्यामा संक्रमित फेला परेसँगै के संक्रमणसँगै तेस्रो चरण अर्थात् भाइरस समुदायमा फैलिन सुरु भएको हो?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. वासुदेव पाण्डेले अहिले नै यसबारे केही भन्न नसकिने बताए।

उनले विश्व स्वास्थ्य संगठनसहितको टोली उदयपुर गएर यसबारे मूल्यांकन गर्ने बताए।

‘अहिले नै भन्नसक्ने अवस्था छैन। हाम्रो टोली भोलि उदयपुर जाँदैछ। तर मैले पाएको सूचनाअनुसार जति संक्रमित छन् उनीहरुको कुनै न कुनै रुपमा मस्जिदसँग सम्बन्ध छन्,’ पाण्डेले भने।

पाण्डेका अनुसार संक्रमितमध्ये धेरै धर्मगुरुको सेवामा भएका मानिस छन्।

यसअघि नै भुल्केमा प्रदेशले केही विज्ञहरुलाई पठाइसकेको छ।

भाइरस पोजिटिभ देखिएकाहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उदयपुरमा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएपनि अहिले नै महामारी समुदायमा पुगेको भन्न नसकिने बताए।

‘अहिले ठूलो संख्या देखिएकैले संक्रमण समुदायमा पुग्यो भन्न सकिँदैन,’ उनले भने।

यद्यपि थप सतर्क रहनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

जनस्वास्थ्य विज्ञ डा. शरत वन्त उदयपुरमा संक्रमण समुदायमै फैलिएको किटान गर्न नसकिए पनि त्यसको स्पष्ट संकेत भने भेटिएको बताउँछन्।

‘सुरुमै संक्रमित भएको १२ जना कताबाट संक्रमित भएका हुन् भने अहिलेसम्म हामीले पत्ता लगाउन सकेका छैनौं। उनीहरुको भनाइअनुसार नेपालमै संक्रमित भएको भन्ने हुन्छ। पहिले उनीहरु कहाँ संक्रमित भए त्यो पत्ता लगाउनु पर्छ,’ वन्तले भने, ‘अहिले उदयपुरमा भेटिएका संक्रमितहरुले समुदायमा पुगेको संकेतको रुपमा लिन सकिन्छ।’

वन्तले अहिले थप सकर्त हुनुपर्ने बताए।

‘समुदायमा संक्रमण फैलिएको छैन भनेर ढुक्क हुने स्थिति छैन, सतर्क हुनुपर्छ,’ उनले भने।

मंगलबार पुष्टि भएका संक्रमितहरु नमाज यसअघि फेला परेका १३ जना संक्रमितसँगै कयौँ दिन बिताएका थिए।

उनीहरुले पनि भुल्के मस्जिदमा चैत १ गतेदेखि १० गतेसम्म सँगै ध्यान गरेका थिए। भुल्केका ५३ मुस्लिम परिवारका ६९ जनाको स्वाब शनिबार संकलन गरिएको थियो। उनीहरु मस्जिद गइरहने गरेको पाइएको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए।

मस्जिदमा नियमित जानेको स्वाब शनिबार विराटनगर लगिएको थियो। यिनै परिवारका बाँकी सदस्यसहित अन्यको स्वाब परीक्षणका लागि आइतबार काठमाडौंबाट हेलिकोप्टरमा सेनासहितको चिकित्सक पुगेका थिए।

मस्जिद आसपासमा रहेका बस्तीका ३ सय २० जनाको स्वाब संकलन गरेर टोली फर्किएको थियो। त्यसै मध्येबाट तीन जनामा कोभिड १९ पोजेटिभ देखिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .