गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोवलसहित काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालय गएर उनले जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी दिने क्रममा उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।
‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ,’ उनले भने, ‘तपाईंहरु उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस्। सरकार साथमा छ।’
नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए। गृहमन्त्री अर्यालले कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशनसमेत दिएका छन्।
‘तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ,’ उनले भने।
गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको क्षतिको पनि स्थलगत अनुगमन गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतको भर्चुअल माध्याममार्फत उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया